राजनीति

प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आह्वान


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध भई सचेत संघर्षमा उत्रन आह्वान गरेका हुन् ।
आज परेका इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले सो आह्वान गरेका हुन् । नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको उनको सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशमा प्रचण्डले सुरक्षाका सबै मापदण्ड अपनाइ सुरक्षित रहन समेत आग्रह गरेका छन् । प्रचण्डले वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।