राजनीति

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, सपथ भोलि


काठमाडौँ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

‘राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,’ प्रवक्ता तथा सहसचिव भट्टराईले भने ।

ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको उनले बताए । ‘शपथ २ बजेतिर गर्ने तयारी छ, ‘ प्रवक्ता भट्टराईले भने ।