राजनीति

देउवाले भने, बहुमत पुग्दैन, झन्झटमा नलागौं


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन रहेको बताउनु भएको छ । आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बताउनु भएको हो ।

एमाले नेता नेपाल पक्षका कम्तिमा २० बढी सांसदले राजीनामा दिए नयाँ सरकार बनाउन बहुमत पुग्ने अपेक्षामा कांग्रेस थियो । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री पदबाट बर्खात भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठन गर्न दलहरूलाई समय दिएकी थिइन् । सो समय आज बेलुकी ९ बजे सकिँदैछ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएपछि दुई/चार दिनका लागि राजीनामा टरेको र पार्टीभित्रका विवाद हल गर्न कार्यदल बनाएर जाने बताउनु भएको थियो । आजै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । ठाकुरले जसपाको भर परेर सरकारको दाबी नगर्न देउवालाई सुझाएका थिए । लगत्तै ठाकुर पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको थियो ।