राजनीति

ओलीले शर्त माने सहमति हुने नेपालसमूहको निष्कर्ष


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको छ।

‘नेपाल समूहले उठाउदै आएको माग जुन २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्नेमा केपी ओली तयार हुन्छन् भने सहमति हुने बताइएको छ । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । यही भेटले पार्टीको आगामी भविष्य निर्धारण गर्ने विश्वास लिएको छ ।
नयाँ सरकार गठनको आज अन्तिम दिन सबै राजनीतिक दल व्यस्त देखिएका छन् । विशेषत नेकपा एमालेमा आज बिहान देखि नै एकपछि अर्को ठूला निर्णय भईरहेको छ । ओली पक्षीय नेता विष्णु पौडेल बिहानै नेपाल निवास कोटेश्वार पुगेर छलफल गरेका थिए । लगत्तै पार्टीको स्थायी कमिटी बैठकमा सामेल भएका थिए । बैठकले नेपालसहितका चार नेतामाथि लगाएका पार्टी निलम्बन फुकुवाको निर्णय गरेको थियो ।यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।