कोरोना विशेष

चन्द्रागिरि नगर क्षेत्र एक साताका लागि सिल गरिने


काठमाडौँ — कोरोना संक्रमणको दर तीव्र भएसँगै जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ५ बजेसम्म एक साताका लागि चन्द्रागिरि नगरपालिकाले सम्पूर्ण नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा पर्ने सबै निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका स्थानीयसँगको सहमतिमा नै नगर सिल गर्न लागेको हो ।

औषधि पसल र स्वास्थ्य संस्थाबाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ । विगतमा खाद्यान्न तथा तरकारीका पसल खोल्ने गरिए पनि यसपटक नखुल्ने नगरका प्रवक्ता हरिभक्त महर्जनले बताए । ‘सम्पूर्ण खाद्यान्न पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण व्यवसाय, नगरपालिकाका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी–गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरू, निजी कार्यालयका सेवाहरू पूर्ण रूपमा बन्द गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउन तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न भने नरोकिने नगरपालिकाले जनाएको छ । सिल गरिएको अवधिबाहेकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगाएको निषेधाज्ञाबमोजिम हुने विज्ञप्तिमा उल्लेख छ ।