समाचार

विष्णु पौडेललगायतका नेताहरु नेपाल निवासमा


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्। बिष्णु पौडेललगायत नेताहरू बिहान नौ बजेतिर नेपालको कोटेश्वरस्थित निवासमा पुगेको र अहिले दुबै पक्षबीच छलफल भईरहेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा पौडेललगायत नेताहरू त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री ओली गत सोमबार विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्। सो धारा अनुसार विपक्षी दलका नेताहरुले आफ्नो नयाँ सरकार बनाउन संसद्मा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्नु पर्ने छ । यदि त्यसो हुन नसेको संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। ओलीलाई त्यसरी प्रधानमन्त्री हुन नदिन नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चा चलिरहेको छ।

उक्त समय सकिने दिन ओली पक्षीय नेताहरू माधव नेपालसँग छलफलका लागि नेता नेपालको निवासमा पुगेका हुन्। नेपाल समूहले गत सोेमबार वैशाख २७ गते २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।