मौसम

देशभराको मौसममा बदली,मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना


काठमाडौँ – देशभरको भूभागमा बिहीबारको मौसम बदली आएको छ । आज नेपालको अधिकांश भूभागमा पानी परिरहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाले जनाएको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ ।

भोलिदेखि मौसममा सुधार हुने सम्भावना रहेको छ भने आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ ।