राजनीति

बहुमत गठबन्धनको सरकार बन्ने सम्भावना यसकारण टर्याे


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार सदनको विश्वास जित्न सकेन । तसर्थ केपी शर्मा ओली सोमबार नै पदमुक्त भइसकेका छन् । अब नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर गठबन्धन सरकारका निम्ति आह्वान पनि गरिसकेकी छन् । यस्तो अवस्थामा अब बन्ने नयाँ सरकारले गठबन्धनको सरकार बनाउने सम्भावना लगभग समाप्त प्रायः छ ।
नेकपा एमालेको माधव नेपालको पक्षले एमालेको सांसद पदबाट राजीनामा नदिई संसद्मा अनुपस्थित मात्रै जनाएपछि यस्तो परिस्थितिको सिर्जना भयो । नेपाल समूहका सांसदहरुले तत्कालका लागि राजीनामा नदिने निर्णय गरेसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको हो।

बहुमतको गठबन्धन सरकार बन्नका लागि अहिलेको अवस्थामा १३६ सांसदको आवश्यक पर्छ । तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको एउटा समूहको मत जोड्दा यो संख्या पुग्ने अवस्था छैन । १२४ मात्रै पुग्ने देखियो । अहिले संसद्मा कांग्रेसको ६१ सांसद रहेको र ४९ सांसद रहेको माओवादी केन्द्रको मात्रै बहुमत पुग्दैन । ३२ सांसद रहेको जसपाले पनि साथ दिनुपर्छ । तर जसपाको एक धार विपक्षीले बनाउने नयाँ सरकारको पक्षमा छैन ।