राजनीति

विश्वासको मतबारे आजै छिनोफानो हुने


काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार (आज) १ बजे बस्दैछ । बैठकले एकै दिनमा विश्वासको मतको छिनोफानो गर्ने कार्यतालिका बनाएको छ । आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए ।
संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजकै दिन अर्को बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने छ । कोरोना संक्रमण भएका सांसदहरुलाई मतदान गर्ने अलग्गै व्यवस्था गरिएको छ ।