राजनीति

ओलीले विश्वासको मत नपाउने निश्चित : माधव पक्षका सांसद राजीनामाको मुडमा (भिडियोसहित)

माधव पक्ष ओलीका लागि वीष या अमृत ?


काठमाडौँ – विश्वासको मतका विषयमा जसपाले तटस्थ बस्ने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । साथै अविश्वासको प्रस्तावमा सहयोग गर्ने विषयमा पनि जसपामा एकमत नभएकोले विपक्षी गठबन्धनले समेत सरकार बनाउन सक्ने स्थीति छैन । जस्ले गर्दा नेपालमा जारी राजनीतिक किचलो अझ बढ्ने देखिन्छ ।

संसद्को अंक गणितमा निर्णायक मानिएको जनता समाजवादी पार्टी विश्वासको मतका विषयमा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपा अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराइसकेका छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३६ मत आवश्यक छ । तर ओलीको दल एमाले १२१ सांसद मात्र छन् । त्यसमा पनि माधव नेपाल समूहका २० सांसद् राजीनामा दिने तयारीमा छन् । यता ६१ सांसद भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ ।

त्यस्तै ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा ३२ सांसदसहित निर्णायक भएको जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा विश्वास जुटाउन नेपाल पक्ष र जसपालाई फकाउन भने छोडेका छैनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि प्रधानमन्त्री ओलीलाई असफल बनाई आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरतमा जुटेको छ ।

दलीय छलफलहरु बाक्लो हुँदै जाँदा र प्रधानमन्त्री अल्पमतमा पर्ने निश्चित हुँदै जाँदा ओलीले फेरि संसद विघटन गर्न सक्ने आशंका पनि राजनीतिक वृत्तका गर्न थालिएको छ । कतिपयले भोलिसम्ममा प्रधानमन्त्रीले राजीनामा दिने सक्ने पूर्वानुमान गरेका छन् । तर देउवालाई भेटेका जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले चुनावी सरकार बनाउने हो भने मात्र बिचार गर्न सकिने बताएको छ । उपेन्द्र यादव र डा बाबुराम भट्टराईले दिएको आश्वासनको भ्रममा नपर्न समेत उनीहरुले देउवालाई सुझाएका छन । यो अवस्थामा ओलीले विश्वासको मत नपाए पनि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना पनि रहेको छैन ।

तर यतिवेला नेपाल पक्षले के निर्णय गर्छ भन्ने विषय सबैको चासोको विषय बनेको छ । नेपाल समूहले सामूहिक राजीनामा दिएको खण्डमा देउवा प्रधानमन्त्री बन्ने सम्भावना बलियो हुनेछ भने, ओलीसँगसहमति भएर एमाले एक रहेको अवस्थामा देश निर्वाचनमै जाने देखिन्छ ।