राजनीति

पार्टीको रणनीति तय गर्न जसपाको बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसद्मा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक बस्ने भएको छ।

पार्टी तथा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निजी निवास टोखामा दिउँसो दुई बजेका लागि बैठक तय गरिएको छ । बैठकमा शीर्ष नेताहरु अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.भट्टराई, वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र नयाँ सत्ता समीकरण बनाएर जानुपर्ने पक्षमा यादव, डा.भट्टराई, राई र श्रेष्ठको स्पष्ट धारणा रहेको छ । केही दिन अगाडीदेखि ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा रहेका ठाकुर र महतो पछिल्लो समयमा भने तटस्थ बस्नुपर्ने अडानमा पुगेका छन्। ठाकुर र महतो आज बिहान देखि राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् । पहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको दुई नेताले प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए ।

शुक्रबार डा.भट्टराईलाई भेटेर यादव, राई र श्रेष्ठ साँझ देउवा निवास बूढानिलकण्ठ पुगेका थिए । सो भेटमा जसपाले एकमतले ओलीको विपक्षमा मत दिने र नयाँ सत्ता समीकरणमा साथ दिने सन्देश सुनाएका थिए।