राजनीति

आफ्नो नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्न जसपालाई देउवाको आग्रह


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपा का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नयाँ सत्तासमीकरणबारे छलफल गरेका छन् । आईतबार बिहानै देउवाले ठाकुर र महतोलाई आफ्नै निवासमा बोलाएर यो विषयमा छलफल गरेका हुन् ।

देउवाले ओली सरकारलाई ढालेर अब आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । तर ठाकुर र महतोले अझै स्पष्ट जवाफ भने नदिएको जनाएको छ । । यद्यपि पछिल्ला दिन नयाँ सत्ता समीकरणमा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बनेको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरे भने ओली नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना रहन्छ । ओलीलाई विश्वासको मत नदिएर उनको सरकार ढालेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसलाई माओवादी केन्द्र साथै जसपाले समर्थन गर्ने गरी विपक्षी गठबन्धनले तयारी गरेको छ ।

तर, जसपामा ठाकुर र महतो अझै ओली नेतृत्वको सरकारकै पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन सिंगो जसपाको समर्थन देउवाले चाहेका छन् ।