राजनीति

एमाले विवाद निर्णायक मोडमा, अब के हुन्छ ?


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वैशाख २७ को तिथि नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद पनि निर्णायक मोडमा उभिएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा दोस्रो तहका नेताहरू विवाद साँघुर्‍याउन कसरत गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटामार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता नेम्वाङ र प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल छलफलमा थिए । नेता माधवकुमार नेपालकातर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा थिए ।

बैठकमा दुवै पक्षका नेताहरूले पार्टीलाई मिलाउनु पर्ने साझा धारणा बनाएका थिए । माधव पक्षले ओलीले २ जेठ २०७५ अघिकै एमालेको विधि विधानअनुरूप चल्नुपर्ने बटमलाइन अघि सारेको थियो । तर, ओली पक्षले भने फागुन २८ गते निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्ने बताएपछि बैठक निश्कर्षविहीन बन्न पुगेको थियो ।

बिहीबार र शुक्रबार पार्टीका दुवै पक्षका नेताहरूबीच व्यक्तिगत तथा सामूहिक रूपमा भएको छलफल समेत आ–आफ्ना अडानका कारण बैठकमा कुनै सहमति हुन सकेन ।

ओली निकट एक नेताका अनुसार दोस्रो तहका नेताहरू आज (शनिबार) पनि छलफलमा जुट्ने जानकारी दिनुभयो । दोस्रो तहका नेताहरूले विवाद साँघुर्‍याएपछि ओली–नेपालबीच निर्णायक छलफलको लख काट्छन् । उनका अनुसार आजको छलफलमा बोलाउनका लागि अर्थमन्त्री तथा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेललाई जिम्मा दिइएको छ ।