राजनीति

ओलीलाई धक्का दिन प्रचण्ड र माधवको गोप्य भेट, ओली पुगे देउवालाई भेट्न, फाइनल ब्याटल बैशाख २७ मा (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने परिक्षण गर्न बैशाख २७ मा विश्वासको मत माग्दै छन् । तर विपक्षीहरुले भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । जसका लागि विपक्षी दलहरुसहित सत्तारुढ एमालेकै माधव नेपाल पक्ष गृहकार्यमा छ ।

वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने निर्णयबाट विपक्षी जति झस्किएका छन्, उत्तिकै अलमल र तरंगित सत्तारुढ एमालेकै माधव नेपाल पक्ष पनि छ । आफुलाई सिध्याउने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कदमलाई लिएर कुनै पनि हालतमा सहयोग नगर्ने अडानमा रहेको नेपाल पक्षले विपक्षीहरुसँग गोप्य छलफल र रणनीति बनाइरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी मोर्चाका कमाण्डर तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतसंग आन्तरिक गृहकार्य चलाइरहेका छन् । ओलीलाई विश्वासको मत दिएपछि कारबाही भोग्नुभन्दा पहिल्यै राजीनामा दिने तयारी यो पक्षको छ । तर प्रधानमन्त्री ओलीले त्यसअघि नै फागुन २८ का निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ ३ कै अवस्थामा फर्काए दुर्घटना हुनबाट रोक्न सकिने माधव पक्षको दाबी छ ।

माधव पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिए एमाले विवाद समाधान उन्मुख हुने देखिन्छ । तर नेपाल पक्षले फ्लोरक्रस गरेर विपक्षीलाई साथ दिए एमाले औपचारिक रुपमै फुटको तयारी शुरु हुने देखिन्छ । जसका लागि पनि वैशाख २७ निर्णायक दिन हो । तर माधव पक्षकै जस्तो तयारी ओलीको पनि छ । बुधबार नै माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाएको केही समयपछि उपनिर्वाचनका लागि भएको कांग्रेस–माओवादी गठबन्धनले ओलीलाई झस्काएको छ । जसका कारण उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार अपरान्ह बुढानिलकण्ठ पुगेका थिए । ओलीले देउवालाई भेट्नुको तत्पर्य मिलेरै चुनावमा जानु खोज्नु हो । किनकि देउवा पनि अर्लि निर्वाचनकै पक्षमा उभिदै आएका छन् । अहिले देउवालाई आफ्नै नेतृत्वको सरकार कि ओलीको नेतृत्वमा चुनावी सरकार भन्ने दुई सुविधा अगाडि आएका छन् ।

अल्पमतमा पर्ने थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न संसद् छिर्न लागेका ओलीको कदमले विपक्षीलाई सशंकित पनि बनाएको छ । किनकि विश्वासको मत संसद्को नियमित अधिवेशनमार्फत पनि माग्न सकिन्थ्यो । तर ओलीले नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशन आह्वान गरेका छन् । ओलीले बजेट र आफ्नो योजनामा रहेको आगामी चुनावलाई केन्द्रित गर्दै विश्वासको मत लिन संसद्मा जाने निधो गरेका हुन् । ओली आफुले विश्वासको मत नपाए विपक्षीहरुको गठबन्धन पनि बन्न नदिने विकल्पका साथ अघि बढेका छन् ।

ओलीलाई सत्ताच्युत गर्न हरसम्भव उपाय अपनाउन तयार भएका विपक्षी दलहरुले ओलीले चाल्नसक्ने सम्भावित कदमलाई रोक्न अविश्वासको प्रस्ताव सबैभन्दा बलियो हतियार हुने ठानेका छन् । तर कांग्रेस, माओवादी र जसपाको सिङगै टीम नमिली अविश्वासको प्रस्ताव पास हुन सक्दैन । यता ओलीलाई जसपाको महन्थ ठाकुर समुहले साथ दिएपनि आफ्नै पार्टीको माधव पक्षले साथ नदिए पद जाने अवस्था आउने छ । त्यसले गोलचक्करमा फसेको संसदीय अंकगणितको वैशाख २७ निर्णायक रहनेछ ।