कोरोना विशेष

खोप लगाउने कार्य तत्कालका लागि स्थगित


काठमाडौँ – सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौँमा तत्कालका लागि स्थगित गरेको छ ।
स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेकाले खोप लगाउने कार्यक्रम स्थगित गरेको बताइएको छ । खोप लगाउन स्थगित गरिनुको कारण खड्काले खुलाउनुभएको छैन । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको छ ।