पर्यटन

हिमाल आरोहण गर्नेलाई गाउँपालिकाले गर्याे सम्मान


काठमाडौँ – हिमाल आरोहण र पर्यटनबाट राज्यकोषमा वार्षिक करोडौँ रुपैयाँ जम्मा हुने भएपनि यस्तो जोखिम कार्यमा खटिने व्यक्तिहरुलाई राज्यले उचित सम्मान नदिएको भन्दै आलोचना हुने गरेको छ । तर सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको एउटा स्थानीय तहले भने आफ्नो गाउँबाट हिमाल आरोहण र पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको नौ नम्वर वडाभित्रका हिमाल आरोहीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले अति जोखिमपूर्ण पेशामा रहेका शेर्पा समूदायसहित ३१ जनालाई सम्मान गरेको हो । हिमाल आरोहणका क्रममा हरेक वर्षजस्तो आरोहण दलका सदस्यहरु दुर्घटनामा पर्ने गर्दछन् । तर कठिन पेशामा लागेर नेपालको पर्वतारोहण पेशामा टेवा पुर्याएकाहरुको उचित योगदान नपुगेको भन्दै बेला बेलामा गुनासो र आलोचना भइरहँदा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमले भने आफ्नो गाउँभित्रका आरोहीहरुलाई उर्जा प्रदान गरेको हो । यस्ता कार्यक्रमहरुले पेशामा आउने नयाँ युवा र क्रियाशिल व्यक्तिहरुलाई टेवा पुग्ने आरोहीहरु बताउँछन् ।

सगरमाथासहित दर्जनौँ हिमालहरु जिल्लाको माथिल्लो भूभागमा पर्दछ । तर सोलुखुम्बुको तल्लो क्षेत्रका नागरिकहरु पथ–प्रदर्शकदेखि हिमाल आरोहणसम्म सक्रिय छन् । ट्रेकिङबाट पनि सयौँ व्यक्तिहरुले राम्रो रोजगारी पाएका छन् । तर महिला ट्रकिङ गाइडहरुको संख्या यस क्षेत्रमा नगन्य मात्रामा छन् । त्यसो त महिलाहरुको संख्या वृद्धिका पनि गाउँपालिकाका जनतप्रतिनिधिले प्रशिक्षणको कार्यक्रम आयोजना गरेको छ । पर्यटन प्रवद्र्धनका लागि जनशक्ति तयार पार्ने सोलुखूम्बुको तल्लो भेगलाई पनि खुम्बुको झैँ पर्यटकीय आकर्षणका लागि पूर्वाधारहरु निर्माणमा गाउँपालिकाले जोड दिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बुमा बार्षिक ४० हजारको हाराहारीमा विदेशी पर्यटकहरु पुग्छन् । ती पर्यटकहरुको पथप्रदर्शक र अन्य सेवासुविधाका लागि व्यवसायीका रुपमा कार्यरत जनशक्तिलाई पनि बेला बेलामा तालिम र प्रोत्साहन जरुरी छ । संवन्धीत स्थानीय तहहरुले यस्ता विषयमा ध्यान दिने र प्रचार नभएका सौन्दर्यले भरिपूर्ण अन्य पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि ध्यान दिन सके थप रोजगारीको श्रृजना हुने देखिन्छ ।