खेलकुद

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिइन्, नेपालको ओलम्पिक यात्रामा पूर्णविराम


काठमाडौँ – जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । आज बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् ।

उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् । सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ ।

नेपालबाट यस ओलम्पिकमा चार खेलमा पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएको छ । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा १३औँ दक्षिण एसियाली खेलकुदमा आफैैले बनाएको ६ सय १४.५ अंक तोड्दै ६ सय १६.८ अंक जोडेकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । पुरुष सय मिटर पौडी तर्फ एलेक्जेण्डर शाह (एलेक्स)ले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले पनि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै नयाँ कीतिमान बनाएका हुन् ।

त्यस्तै आशा गरिएकी खेलाडी गौरिका सिंहले पनि आफैले राखेको राष्ट्रिय कीर्तिमानको सुधार गरेकी छन् । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा १ः००.११ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा १ः००.६२ को राष्ट्रिय कीर्तिमान थियो । आफ्नै खर्चमा बेलायत बसेर अभ्यास गरिरहेकी गौरिकाले आफ्नो हिटमा तेस्रो स्थान प्राप्त गरेकी थिइन् । उनले ५० मिटर लङ कोर्शमा पनि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी छिन् ।