कोरोना विशेष

संक्रमितमध्ये ४० प्रतिशत व्यक्तिमा दीर्घकालिन लक्षण


काठमाडौँ – कोभिड–१९ संक्रमितमध्ये ४० प्रतिशत व्यक्तिमा दीर्घकालिन लक्षण देखिएको एक अध्ययनले जनाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसमा दीर्घकालीन असर देखिएको छ ।

अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो । कोभिडबाट संकमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको समस्याबाट पीडित रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

कोभिडपछिको दीर्घकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले भनाइ छ । अध्ययनअनुसार एसियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालीन समस्या देखिएको छ ।

कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालीन कोभिड मानिन्छ । कमजोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्घकालीन कोभिडका लक्षण हुन् ।