देश

राष्ट्रपतिले आज पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्ने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै हुनुहुन्छ । नेपालमा पहिलो पटक सिन्धुलीगढीमा युद्ध संग्रहालयको स्थापना गरिएको छ ।

युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण गरेको हो । ६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू राखिएका छन् ।

गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक प्रदर्शन लगायत संग्रहित गरिएको छ । २०७६ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिन्धुलीगढि युद्व संग्रहालयको शिलान्यास गर्नुभएको थियो ।