देश

२ घण्टाकाे फन्कोपछि जहाजले गर्याे काठमाडौँमा सफल अवतरण


काठमाडौँ – करिब दुई घण्टा काठमाडौँ उपत्यकाको आकाशमा फन्को लगाएको बुद्ध एयरको विमानले सफल अवतरण गरेको छ । सोमबार बिहान साढे ८ बजे काठमाडौँबाट विराटनगर उडेको विमानका त्यहाँ अवतरण हुन नसकेपछि राजधानीस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फर्काइ आकस्मिक अवतरण गराइएको हो ।

विमानको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाज ल्याण्डिङ गियरमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौँमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौँ फर्काइएको थियो ।

जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।