राजनीति

न्यायिक निकास खोज्ने जसपा उपेन्द्र पक्षको तयारी


काठमाडौँ – निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्ट देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले न्यायिक निकास खोज्ने भएको छ ।

यादव पक्षका शीर्ष नेताहरुबीच पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको छ ।

निर्वाचन आयोगले जसपामा २ जना अध्यक्ष रहने व्यवस्था रहेको भन्दै एकजना अध्यक्षको मात्रै हस्ताक्षरमा भएको पदाधिकारी हेरफेर वा निष्कासन सम्बन्धी निर्णय स्वीकृत नहुने ठहर गरेको थियो । जसपाले भने पार्टीको बहुमत पक्षले गर्ने निर्णय कार्यान्वयनमा बाधा हुन नहुने भन्दै निर्वाचन आयोगसँग छलफल गर्ने तयारी थालेको छ ।

राजनीतिक रुपमा विभाजन भइसकेको जसपा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले निर्णय सुनाएपछि फेरि अन्योलमा परेको छ । एकले अर्कालाई दोषारोपण गर्दै आफू निर्दाेष देखाउन दुवै पक्षले सत्तोसराप गरिरहेको थियो ।

जसपाको कुनै पनि पक्षले आधिकारिकता नपाउने भनेर निर्वाचन आयोगले निर्णय लिएपछि जसपामा अन्योलताको भूमरी सुरु भएको छ । आयोगको निर्णय पछी जसपाको उपेन्द्र यादव आयोगप्रति रिसाएको छ भने महन्थ ठाकुर पक्ष एक प्रकाले मौन झैँ देखिएको छ ।

एक–अर्कालाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएर दलको आधिकारिकता आफूलाई दिन मरिहत्ते गरिरहेका दुवै पक्षले आयोगको निणर्यलाई अनपेक्षित मानेको छ । आयोगको निर्णयको अर्थ हुन्छ, ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारी आधिकारिक हो त्यो बाहेक अर्काे आधिकारिकता छैन ।