Breaking

धार्मिक,सांस्कृतिक र सभ्यताको जगेर्ना गर्ने मुख्य दिन श्रावण शुक्ल पूर्णिमा, अध्यात्मको बाटो खुलाउने यज्ञोपवित


काठमाडौँ — आज श्रावण शुक्ल पूर्णिमा, ऋषितर्पणीका साथै विभिन्न चाडपर्व र दिवस मनाउने एउटै दिन । केही वर्षअघि चाडपर्वको रुपमा मात्रै हेरिने यो दिन पछिल्लो केही वर्षदेखि भने धार्मिक, सांस्कृतिक, सभ्यतो जगेर्ना गर्ने मुख्य दिन बन्दै गएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा आज देशैभरका हिन्दु धर्मावलम्वीहरुले रक्षाबन्धन धारण गरी मनाएका छन् ।

विधिपूर्वक अभिमन्त्रित जनै र रक्षासूत्र धारण गर्नाले नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास अनुसार आज देशैभरका मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति थियो । वैदिककालदेखि चल्दै आएको यो परम्परामा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने प्रचलन रहेको छ । खास गरी धागो र बन्धनको यो चाड निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प पनि हो ।

अध्यात्मको बाटो खुलाउने यज्ञोपवित र रक्षाबन्धनले विभिन्न विपत्तिबाट पनि जोगाउने मान्यता छ । मन्त्रद्वारा पवित्र बनाइएका यज्ञोपवित र रक्षाबन्धनको धारण गर्नाले सूर्य भगवान्को प्रत्यक्ष ऊर्जा प्राप्त हुने र गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने जनविश्वास रही आएको छ ।

आज नै दिदीभाईको सम्बन्ध प्रगाढ पार्न राखी बाध्ने प्रचलन पनि रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्ने सामाजिक मान्यता छ । केही वर्षअघि सम्म तराई क्षेत्रमा प्रचलित यो पर्व हाल देशैभर मनाउँन थालिएको छ । त्यस्तै काठमाडौँमा आज नै गाई जात्रा पनि मनाईएको छ । आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाँटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने लोकको मान्यता छ ।

आजकै दिन ५ औं विश्व संस्कृत दिवस पनि मनाइएको छ । नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायतका विभिन्न देशहरुमा यो दिवस मनाइएको छ । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले २०७५ सालदेखि ऋषितर्पणीको अवसर पारेर जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा यो दिवस मनाउन थालिएको हो । केही वर्षअघि चाडपर्वको रुपमा मात्रै हेरिने श्रावण शुक्ल पूर्णिमा पछिल्लो केही वर्षदेखि भने धार्मिक, सांस्कृतिक, सभ्यता जस्ताको जगेर्ना गर्ने मुख्य दिन बन्दै गएको छ ।