राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सकियो : १० समूहले निष्कर्ष सुनाउँदै, टोली नेता तोकिए


काठमााडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशनका लागि शुक्रबार गठित १० वटा समूहको बैठक सकिएको छ । शुक्रबार सुरु बैठकमा प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि छलफल सकिएपछि निष्कर्ष सुनाउन टोली नेता चयन गरिएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

ती तीन प्रस्तावमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो । १ सय ९६ जना केन्द्रीय सदस्यहरुलाई १० वटा समूहमा बाँडेर शुक्रबारदेखि थालिएको छलफल छलफल सकिएपछि निष्कर्षका लागि टोली नेता बनाइएको हो । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरूबाट प्रतिनिधित्व गराउँदै केन्द्रीय सदस्यहरुको समूह बनाइएको थियो ।

ती समूहले विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रस्तावमाथि छलफल गरेका थिए । दुई दिनसम्म छलफल चलेपछि निष्कर्ष सुनाउन हरेक समूहबाट टोली नेता बनाइएको हो ।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानालाई टोली नेता बनाइएको छ।

त्यस्तै कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेष कमिटीबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले समूहको निष्कर्ष सुनाउँदैछन्।