पर्यटन

आन्तरिक पर्यटकले पोखरा खचाखच, कहिले आउलान् विदेशी पर्यटक ? (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरसको संक्रमणदर कम हुँदै गएपछि पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । अहिले मौसम पनि खुलेकोले माछापुच्छ्रे  र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई पहिलो गन्तव्य बनाउने गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ्रे  र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् । सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा कोरोना संक्रमण कम भएसँगै लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पर्यटन व्यवसायी सोम थापा वताउँछन् ।

आन्तरिक पर्यटकको उपस्थिति बाक्लिन थालेपनि आर्थिक गतिविधिलाई अझै चलायमान बनाउनका लागि विदेशी पर्यटकको गतिविधि पनि बढ्नुपर्ने व्यवसायी थापाको भनाई छ । पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ । पोखरा आउने अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मार्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागी निस्किने गरेका छन् ।

मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गए पनि ती क्षेत्रमा आन्तरीक पर्यटको भिड बढेको हो । पोखराको सुन्दर दृश्य हेर्नका लागि आफुहरु टाढा टाढादेखि पोखरामा आएको पर्यटकहरु बताउँछन् ।

पर्यटकिय क्षेत्र पोखरामा हाल निजी क्षेत्रको ५ अर्व रुपैयाँ बढीको पर्यटन क्षेत्रमा लगानी रहेको छ । करिव सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सवै होटल भने खुलिसकेका छैनन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही समय लाग्ने भएपनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको भए पनि अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्नुहुन्छ ।

पर्यटन बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरुलाई भित्राउने खालका कार्यक्रमहरु गरेको उहाँले बताउनुभयो । पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर ,प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा भीडभाड बढेको छ ।