Breaking

गण्डकी प्रदेशको बैठक अनिश्चित, अर्थमन्त्रीसँगै सदस्यहरुसमेत बैठकमा अनुपस्थित


काठमाडौँ — गण्डकी प्रदेश सभामा असार १ पेश भएको बजेटको विवादले सत्तापक्षभित्रै विवाद सिर्जना भई संसद बैठकसमेत अनिश्चित बनिरहेका बेला छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठकमा सभापति एक्लै भएका छन् । समितिले आज बिहीबार दिउँसो १ बजे बोलाएको बैठकमा पदेन सदस्य रहेका मन्त्री र अन्य सदस्य नै अनुपस्थित भएका हुन् । बजेटमा देखा परेको समस्या के हो, सरकारकै मन्त्रीहरुले किन सहमति जुटाउन सकिरहेका छैनन् र संसदमा छलफल गर्न कहाँ कहाँ गाँठो परेको हो भन्ने छलफलका लागि अर्थमन्त्री रामजी बराललाई समितिको बोलाएको थियो । तर, अर्थमन्त्रीमात्रै होइन, सदस्यहरुसमेत बैठकमा अनुपस्थित भएपछि सभापति दीपक कोइराला एक्लै परेका हुन् ।

‘असार ५ गतेबाट संसदमा छलफल हुनुपर्ने बजेट अनिश्चित भएको अवस्थामा अर्थमन्त्रीसहित बैठकमा बोलाएर संसद बैठकमा बजेटको छलफल छिटोभन्दा छिटो अगाडि बढाउनुपर्‍यो भनेर अनुरोध र मन्त्रीलाई निर्देशन गर्न बैठक बोलाएका थियौं, समिति सभापति कोइरालाले भने, अरु बेला पनि नियमित बैठक बस्न सकिरहेको थिएन । तर, यसपटक बुझाइ पनि समस्या देखा पर्‍यो ।

गण्डकी प्रदेश सभाको ठूलो दल नेकपा एमालेले बुधबारमात्र पत्रकार सम्मेलन गरेर संसदमा छलफलै नगरी बजेट विकास समितिमा छलफल गर्न लागिएको भन्दै विरोध जनाएको थियो । त्यही कारण पनि समिति सदस्य रहेका एमालेका सांसद नआएको हुन सक्ने कोइरालाको आशंका छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीलाई बिहान फोन गरेर पनि यसबारे बताएको थिएँ । समय सन्दर्भ यस्तै परेकाले गलत अर्थ लाग्यो होला तर त्यस्तो होइन, कोइरालाले भने, ‘बजेट संसदमा छिटोभन्दा छिटो छलफल गराउनुपर्‍यो भन्ने हो ।

मन्त्री र सदस्य सांसद कोही पनि उपस्थित नभएपछि पत्रकारहरुलाई आफ्नो विषय राखेर कोइरालाले २ बजे बैठक बस्न नसकेको जानकारी गराएका हुन् । ‘२ बजेसम्म हामीले कुर्‍यौं तर कोही आउनु भएन । खास कुरा के थियो भने, अरु प्रदेशले बजेट पास गरिसके । हामीले बजेटको छलफलै गर्न सकेका छैनौं, कोइरालाले भने, केके कुरा नमिलेका हुन्, ती सबै कुरा मिलाएर प्रदेश सभामा छलफल गराउनकै लागि बैठक राखेका थियौं । सार्वभौम सम्पन्न संसदमा बजेट पेश नगरीकन अन्तिममा अरु नै विधिबाट पारित गर्नु राम्रो नभएको सभापति कोइरालाले अर्थमन्त्री र सरकारलाई आग्रह थियो । सरकारले नै संसद फेस गर्न डराइरहेको जस्तो देखिएको कोइरालाले बताए ।