काठमाडौं– ६८ जनाको ज्यान जाने गरी स्पेनमा भएको रेल दुर्घटनाअघि कन्ट्रोल सेन्टर र चालकबीच भएको अडियो सार्वजनिक भएसँगै गम्भीर मानवीय त्रुटि रहेको खुलासा भएको छ । यसले दुर्घटनाको पछाडि प्राविधिक खराबी मात्रै नभई मानवीय त्रुटिसमेत रहेको उजागर गरेको छ भने स्पेनको रेल व्यवस्थापनमाथि गम्भीर प्रश्नसमेत उठाएको छ । म्याड्रिडबाट सेभियातर्फ तीव्र गतिमा कुदिरहेको यात्रुवाहक रेलले बुधबार रोकिराखेको अर्को रेललाई पछाडिबाट ठक्कर दिँदा ६८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था निकै गम्भीर छ । युरोपको आधुनिक रेल इतिहासकै सबैभन्दा दर्दनाक मानिएको यस दुर्घटनाको पछाडि प्राविधिक खराबी मात्र नभई ‘रेल कन्ट्रोल सेन्टर’ (नियन्त्रण कक्ष) को एउटा अक्षम्य मानवीय त्रुटि रहेको तथ्य सार्वजनिक अडियो टेपहरूले खोलेका छन् । बुधबार बिहान करिब ९ बजे क्यास्टिला–ला मान्चास्थित उर्दा नजिकै यो भयानक दुर्घटना भएको हो । सरकारी स्वामित्वको ‘रेन्फे’ कम्पनीको तीव्र गतिको रेलले सोही लिकमा अगाडि रोकिएर बसेको निजी अपरेटर ‘इर्यो’ को रेललाई तीव्र गतिमै ठक्कर दिएको थियो । रेन्फे कम्पनीको रेलमा ३९७ जना यात्रु थिए भने इर्योको रेलमा १४७ यात्रु थिए । स्पेनिस सञ्चारमाध्यमहरू एल पाइस र आरटीभीईले सार्वजनिक गरेका नियन्त्रण कक्ष र चालकबीचको संवादले दुर्घटनाको मुख्य कारण छर्लङ्ग पारेको छ । प्राप्त विवरणअनुसार, कम्प्युटर प्रणालीमा आएको प्राविधिक समस्याका कारण स्वचालित सिग्नलिङ अवरुद्ध भएपछि सो खण्डका सबै रेलहरूलाई ‘रातो बत्ती’ देखाएर रोकिन स्वचालित आदेश जारी भएको थियो । सोही आदेशपछि अगाडि रहेको इर्यो रेल ‘उर्दा’ स्टेसनको प्रवेश बिन्दुमै रोकिएको थियो ।
Breaking


प्रतिक्रिया