मनोरञ्जन

केटी माग्दा नदिएपछि म(दोश्रो भाग)


काठमाडौँ – झमक्कै साँझ परिसकेको थियो । पूर्वी दिशामा जुनको उदय भयो । घरको तलामाथि एकदम सुनसान वातावरणछ । मनभित्र नानाथरिको कुरा सम्झदै सम्झदै निक्कै लामो समयसम्म म एक्लै त्यहाँ बसिरहेको थिएँ । तर केहिबेरमा शून्यतालाई भङ्ग गर्दै, “काका ! तपाइँ कता हुनुहुन्छ ?” काठे भर्याङबाट माथि उक्लिदै गर्दा माइँली बुहारीले छाडेको प्रश्न अचानक मेरो कानमा आएर गुन्जन्छ ।

उनको आवाज हावाको बिलिन हुन पाउँदा नपाउँदै, “म यता कुनामा लुकिरहेको छु,” डराइ डराइ छोटो उत्तर फर्काउँछु ।

“नाना ! जानु भयो नि।”

“ए ! हो र ? अनि तारा पनि गइन कि ?”

“अँह ! उनी गाकी छैनन् ।”

बुहारीसँग संक्षिप्तमा कुरो हुन्छ । अहिले जस्तो गाउँमा बिजुलि बत्ति थिएन । कोठा चकमन्न अँध्यारो थियो । बन्द भएको झ्यालहरुका जोर्नीहरुदेखि अलिअलि जुनकोप्रकाश कोठाभित्र छिरिरहेको थियो । तिनै उज्यालोको सहयोगले म सुस्तरि हिँड्दै लिस्नोको नजिकैपुग्छु । त्यसपछि उनी अगाडि अगाडि र म उनको पछाडि पछाडि मुनि तलामा झर्छौं ।

भान्सा कोठामा पुग्दा अगेनामा आगो दनदनि बलिरहको थियो । खास्सै आगोको के रमिता हुन्थ्यो र ? तैपनि ताराले तिनै बलेको आगोको निरन्तर रमिता हेरिरहेकी थिइन । उनलाई त्यस्तो अवस्थामा देखेपछि सायद आगोको रमिताभन्दा पनि मसँग बिहे गर्ने वा नगर्ने भनेर मनभित्रैदेखि बाढीको भङ्गालो छुटिरहेको होला भन्ने ठानें । अझै उनकी नजिक पुगेर के पनि सोच्न थालें भने उनलाई लिन आकी आमा तफर्कि हालिन । उनी सायद मसँग बिहे गर्नकै लागि यहाँ बसेकी होली भन्ने मलाई लाग्यो ।

अब जे सुकै होस् है । आखिर मैले पनि एकदिन बिहे गर्न नै पर्छ । उनलाई नै बिहे गर्छु र आजै घर लान्छु भनेर आँट कसें । त्यसपछि, “तारा ! अँ, म तिमीलाई बिहे गर्न चाहन्छु?”नानाथरिको माया प्रेमको जालो बुन्न जान्दिनथे । एक छुट्टी आको लाहुरे त थिएँ ।केहि भूमिका सुमिका बाँधिन । तरफ्वास्सै त्यति भनि हालें ।

उनी भर्खर भर्खर १८ टेक्त्तै गरेकी सुनेको थिए । तैपनि गाउँघरमा हुर्केकी मान्छे अति सोझा नै हुन्छन् । उनी पनि हेर्दा सोझि जस्ति लाग्यो । हुनत त्यति कलिली युवतीले के नै पो भन्नसक्थिन र ? तर मेरो भनाइलाईनकरात्मक सोचिन भने के हुने होला ? नतिजा के आउने होला?फिटिक्कै केहि सोचिनँ । सजिलै त्यति भनि पठाए ।

मेरो कुरो सुनेपछि उनी एकटुक बोलिनन् । लाटाले पापा हेरे झै ट्वा परेर आगोलाई निरन्तर हेरिरहिन । ल भैगो । बोल्न त बोलिनन् बोलिनन् तथापि मैले सजिलो सोचे जस्तै मप्रति टाउको फर्काएर स्वीकारोक्त्ति पनि जनाइनन् ।

उनलाई त्यस्तो अवस्थामा देखेपछि मेरो मनभित्र हल्का चिसो पैदा भयो । तैपनि ‘केहि नबोल्नु भनेको, हुन्छ भन्नु नै हो’अथवा उनको अमुक्त्तालाई मैले बिहे गर्न चाहन्छिन् भन्ने नै बुझें । अझै मसँग एउटा गर्विलो उत्तर त के पनि थियो भने यदि उनी बिहे गर्न नचाहेकी भए आमासँग आफ्नो घर गइहाल्थिन नि बिहे गर्न कै लागि यहाँ बसेकी होली, दोहर्याएरमनमनै भनें ।

रात छिपिदै गइरहेको थियो । निक्कैबेर अगाडि पिएको जाड्ले छाड्दै लग्यो । मैले त्यति भनि सकेपछि भान्सा कोठाको वातावरण एकछिन सुनसान भयो । उनी केहि बोल्दै नबोलेपछि, “ल ल छोरी ! काकासँग बिहे गर गर । नाना भेना एक-दुई दिनसम्मरिसाउनु हुन्छ । त्यसपछि लाहुरे जुवाइँ हो भनेर मन पराइ हाल्नु हुन्छ नि । के फिक्कर गर्छौ ? हामी चाउरेसँग बिहे गरेर त गरिखाएको छौं । तिमी त गरि खाइहाल्छौ नि । आखिर माइँत घरमा बसेर पनि छोरी मान्छेको जीवन नचल्ने रहेछ । जीवन हो, पराइ घरमा गएर गरि खानुपर्छ,” बुहारीले बल्दै गरेको आगोमा तेल थपिन । 

उनकी कुराले मलाई दोब्बर तेब्बर आड भरोसा बढ्यो । तर अब यहाँ बसि रहियोभने फेरि ताराको बाबु आउन पनि सक्छन् । केहिबेर अगाडि उनकी आमा आइन । छोरी मान्छेको हृदय छोरा मान्छेकोभन्दाअलिक नरम हुन्छ भन्छ । त्यसैले उनी आइन र केहि नभनि फरक्कै फर्केर गइन । तर उनकी बाबु आयो भने त मेरो टाउको पनि यस धर्तीदेखि सधै सधैको लागि बिलय हुन सक्छ । त्यसैले चाडै टाप कस्नु पर्छ ।

तर किनमैले त्यस्तो सोचे भने सारा गाउँकै सबैभन्दा गरिव परिवारमा जन्मेको एकजना किसानको छोरो म मात्र तहुँ । खै ! किसान पनि के भन्ने र ? बरु किसानको त साधरणतय२-४ पाथीधानको बिउको खेत हुन्छ । १-२ मुरी कोदो मकै फल्ने पाखाबारी हुन्छ । एक माउ भैंसी अथवा एकहल गोरु हुन्छ । तर त्यो स्थिति मेरो थिएन । जसले गर्दा समाजमा मेरो इज्जत र प्रतिष्ठा केहि पनि छैन् भन्ने मैले राम्ररि नै बुझेको थिएँ । अझै उहाँ पूर्व बेलायती लाहुरे मात्र नभएर बुईपाको प्रधानपन्च पनि हुन् । ‘शक्त्ति र पैसा हुनेको लागि नेपाल स्वर्ग र अरुको लागि नर्क हो,’भन्ने कुरो अहिलेसम्म मध्यान्हको सूर्यझै छर्लङ्गै छ ।

वास्तवमा अहिलेको यस्तो परिस्थिति मेरै ठूला दाजू र दिदीहरुले निम्त्याउनु भएको हो । उहाँहरुले केटी माग्न नै नगइ दिएको भए म अहिले आफ्नो अनुहार लुकाएर भागि हिड्नु पर्ने हुन्थेन । त्यसैले त्यो पहिलो गल्ति भयो । दोश्रोअब उनलाई भगाउने योजना बुन्दैछु । अब यो सहि हुन्छ कि गलत हुन्छ । त्यो त समयले नै बताउने छ । अब जाघँर नतर्नु थियो ।तर्न खोजियो बित्थैमा किन खुट्टा कमाउनु हौ जस्तो लाग्यो । बरु जतिसक्दो छिटोयहाँदेखि भागियो उतिसक्दो बाँच्न सकिन्छ भन्ने मनमा लाग्यो ।

त्यसैले, – “माइँली ! अब हामी बाटो लाग्छौ है, कि कसो ?” सानो स्वरमा भनें।

“ल ल काका जानुहोस्, जानुहोस् ।छोरीलाई लगेर जानु भएपछि बाजेबजु पनि खुसि हुन्छन् । आज घरैमा बस्नु होस् । भोलि पर्सितिर धरान जानु होस् न । म नाना र भेनालाई सम्झाइ बुझाइ गरिहाल्छु नि,” उनले मेरो भनाइलाई स्वीकार मात्र गरेनन् शान्त्वना दिदै त्यति भनिन् ।

फेरि, “रात त परिसकेको छ । तर जुनको उज्यालोले आँखा देखिन्छ । नत्रभने त राँको पनि बनाई दिन्थे,”अन्तिम चोटि माइँली बोलिन ।

“भो भो पर्दैन पर्दैन । उज्यालो नै छ। फेरि त्यति टाढा पनि छैन्। छामछाम छुमछुमगर्दै पुगिहाल्छै नि । तैपनि जिन्दगीभरि हिँडिरहेको बाटो त हो,” चाडो चाडो जबाफ फर्काइ हाल्छु ।

हिँड्नको लागि तयार भएपछि, “उँठ, जाने होइनँ र जाउँ ?” अन्तिम चोटी भने ।

मेरो कुरो सुनेर उनी बसिरहेकी स्थानदेखि उठिन र मसँग जानको लागि तयार भइन । उनी उठेपछि, “यहिँदेखि बाहिर निस्कौ है ?” भनें ।

“हुन्छ हुन्छ,” माइँलीले जबाफ फर्काइन ।

ड्यामडुम थुनिरहेको जस्केलो ढोकालाई बङ्लङ्गैउघार्छु । त्यसपछि कोठादेखि बाहिर निस्कन्छु । अगाडि म निस्केपछि तारा मेरो पछिपछि आउन थाल्छिन् । बाहिर निस्कने बितिक्कै घरको पछाडि पुग्छौं । तर घर पछाडि पट्टिको गोरेटो बाटो थोरै अफ्ठ्यारो छ । बारीको माथिल्लो खन्ड निस्कनको लगिएक कान्लामज्जैले चढ्नु पर्छ । बाटोअफ्ठ्यारो भएको हुनाले म पहिले बारीको माथिलो डिलमा पुग्छु र उनलाई तान्नको लागि हात दिन्छु । जिन्दगीमा पहिलोपटक ताराको मुलायम हातहरु समाउन पाउँदा केहि खुसीको अनुभूति महसुस गरेको थिएँ । त्यसपछि उनलाई बेस्सरि तानेर मुनिदेखि एक कान्लामाथि निकालें ।

जेठको महिना थियो । तर निक्कै दिन यता गाउँमा पानी परेको थिएन ।रात्रीकालिन समय भएतापनि टहटह जुनले गाउँ पुरै उँज्यालो बनाई रहेको थियो । बारीको माथिलो डिलमा निस्केपछि यदाकदा छिमेकीहरुको कुकुर भुकेको बाहेक गाउँ कोलाहलमय थियो । त्यति शान्त वातावरणमा एक रफ्तारले तर नबोलि नबोलि शिरेम्पाको बारीमा हामी दुवैजना हिँडिरहेका थियौं ।

त्यो एक गराबारी निक्कै ठूलो भएकोले अलिक फराकिलो देखिन्छ । बारी मल्नको लागि त्यहाँ हिँउदभरि गाईभैंसीहरु बाँधिएका थिए । लामो समयसम्म गाईबस्तुहरु राखेको हुनाले बारीमा बेस्सरि मल पुगेको थियो । परिणाम स्वरुप लहलह भएका मकैका बिरुवाहरुका रमणिय दृश्य देखिरहेका थिए । मकैबारीको बिचौबिच भागमा मानिसहरु हिड्ने सानो गोरेटो रहेको थियो । हामी तिनै गोरेटो बाटोमा आफ्ना उज्वल भविष्य बनाउने हाम्रापाइतालाहरुलाईएक, दुई र तीन भनेर गन्दै गन्दैअगाडि बढिरहेका थियौं ।

समय रातको लगभग १० बजेको हुनुपर्छ । मनभरि अनेक थरिका कुराहरु खेलाउँदै खेलाउँदै हामी एकछिन हिँड्छौं । तर दुईचार गरा मकैबारीका कान्लाहरु छिँचोलेपछि उकालो बाटोको अन्त हुन्छ र हामी शिरेम्पाको घरमा पुग्छौं । हाम्रो बाटो उनको घरको आगन भएर नै जान्छ ।

आजभन्दा लगभग ३८ बर्ष अगाडिको कुरो हो । मेरो मानसपटलमा स्मरण हुँदा शिरेम्पालेनिक्कै धेरै बिहे गरेका थिए भनेर सुनेको थिएँ तर ठेक्कै कति जना होला भनेर मलाई अहिलेफिटिक्कै याद छैन् । हुन पनि उनी मभन्दा निक्कै जेठो थिए तर साइनुले उनी मेरो भतिज हुन् । उनको तुलनामामैले त भर्खर भर्खर एकजनाआइमाइ बिहे गरेर घर लादैछु भनेर मनमनै सम्झें र एकखित्का हाँसो छाडें । तर रातको समय थियो । अनि म खुरुखुरु ताराको अगाडि हिँडिरहेको मान्छे । मेरो हाँसो कस्ले देख्ने र ? कसैले देखेन, त्यतिक्कै हावामा उडेर खेर गयो ।

अ… जनरल धीर शमसेरको जस्तै उनको पनि निक्कै धेरै छोराछोरीहरु थिए । तैपनि उनको जस्तो ठेक्कै त्यति धेरै १७ जना छोरा र १७ जना नै छोरीहरु त थिएनन् । तर तीन गुडकाजम्मै छोराछोरीहरु तिनै घरमा बस्ने गर्दथे । यधपि रातको समय निक्कै गइसकेको थियो । त्यसैले हामी घरको आगनदेखि हिँडेको भएतापनि कसैलाई नदेखेपछि उनीहरु सबैजना भाक्लाक भुक्लुक सुतिसकेकारहेछन् भन्ने चाल पायौं । नत्रभने मनभित्र हल्का त्राश उत्पन्न भैरहेको थियो । यदी कसैले देखेर, “यो नानी को हो ?” भनेर सोध्यो भने म के जबाफ होला भनेर ठूलो पिरमा थिएँ । धन्न कसैले देख्दै देखेन । त्यसपछि मेरो मन ढुक्क भयो ।

हुनत मानिसको मन न हो । घरिघरि उथलपुथल भै रहन्छ । तर त्यस दिन मन मात्र होइन । मेरो सारा जीवन नै उथलपुथल भैरहेको थियो भनेर सम्झन्छु र तारासँग क्रमशः अगाडि बढ्छौं । नभन्दै त्यहाँदेखि मास्थिर बढ्दा झन नाक ठोकिने उकाली छ र त्यसलाई क्रमशः चढ्न थाल्छौं ।

अगाडि चढ्दै जाँदा त्यस्तै ५-७ वटा बारीको भिरालो कान्लाहरु उक्लनु पर्छ । त्योमानिसहरुमात्र हिँड्न मिल्ने गोरेटो बाटो अलिक सानो र निक्कै अफ्ठ्यारो पनि छ । त्यसैले त्यो बाटोमा गाईबस्तु वा भेडा बाख्राहरु हिँड्न सक्दै सक्त्तैन । बस्तुहरुको लागि चाहिँ झन अर्को गल्लीको बाटो प्रयोग गर्नु पर्छ ।

अझै मानिसहरुलाई पनि यो गोरेटो कहाँ त्यति सजिलो छ र ? डोकोमा भारी बोकेर उकालो चढ्दै गर्दा केहि कसो भएर खुट्टा चिप्लिएर बङ्लङ्गै लडियो भने हातखुट्टा वा घाँटीमात्र भाँचिने डर होइन । सिधै बैकुण्ठ बास हुन सक्छ । त्यसैले त्यति अफ्ठ्यारो बाटो बाट हाम्रो घर जान पर्ने भएकोले जो कोहि मान्छेहरु घरमा आउने वा जाने गर्दैनथे । 

छिप्तीमा त्यो घनाघश्यको उकाली थियो । अझै रातको समय भएपनि म दुवै घुँडामा पालैपालो हात राखेर हरेक कान्ला चँढ्थे र एकछिन बिसाएर खुइँत्त गर्थें । तरप्रत्येक कान्ला उक्लेपछि तारालाई पर्खदै पर्खदै मुनीतिर हेर्थे । “बाटो अलिक अफ्ठ्यारो पनि छ रतिमी निक्कै थाक्यौ होला,हगि ?” ठाडो पखालाले सिध्दिन आँटेकीतारालाई अति प्रेमपूर्वक प्रश्न गर्छु । प्रति उत्तरमा उनले, “छैन् छैन्,” मात्र भन्छिन् ।

जे होस् भरखर भरखर बिहेको लागि भगाएर लादै थिएँ । त्यसैले उनी निक्कै शर्मिन्दा छिन् र थोरै शरम मान्छिन् । सायद त्यसैले थोरै बोलेकी होला भन्ने लाग्थ्यो । वा उनकी बानी नै त्यस्तो हो कि ?थोरै शंकामा थिएँ ।

हुनत सोच्नु एउटा कुरो हो तर देख्नु फरक कुरो हो । त्यसैले जुनको उज्यालोमा उनको मुहार हेर्थें र निक्कै थाकिसकेको महसुस गर्थें । सायद शरिरमा पसिना पनि आएको हुनसक्छ । तर मैले रातको समयमा ‍देख्न सक्त्तिनथें । बिचरी पुलपुलिएर हुर्केकी एकजना लाहुरेको आलोकाँचो छोरी भएर होली फेरि एक मनले त्यतिभन्थें ।

अझैयसरि भगाएर लादै गर्दा मैलेउनलाई कताकता सजाय दिएको जस्तो आभाष हुन्थ्यो । तर कुनै परवाह नगरि निक्कै दुःखको साथ उनी मेरो पछिपछि भिरालो कान्लाहरु क्रमशः चढिरहेकी थिइन। रात्रीकालिन समय भएपनि कान्लादेखि माथि निस्केपछि जोडी ढुकुर झैं एकछिन सँगसँगै हिँड्थ्यौ। खुट्टा दायाँ बायाँ मिलाउँथ्यौं । तर एकछिनपछि उनी छाडिदै छाडिदै जान्थिन । लाग्थ्यो – यो संभवत कहिले बोल्दै नबोलेको मात्र नभएर पूर्वानुमाननगरेको प्रेम विवाह होला ?

हुन पनि मेरो घर अक्करमा थियो । अझै माथि माहाबरे डाँडादेखि ओरालै ओरालो दिखुवा खोला ताकेको उक्त्त जमिन एकदम भिरालो बनेर झरेको छ । अब त्यस्तो भिरालो जमिनमा केहि खेतिपाति हुँदै हँदैन । त्यसैले त्यो पाखोमा केवल खरबारी मात्र छ । खरबारीको दायाँ बायाँ हजारौ हजार बर्षदेखि अटल रहेका भिमकाया चट्टानहरुले जमिन ओकटि रहेकाछन् । तिनै चट्टाने भीरको दाहिनेकुनामा फुसले छाएको एउटा सानो छाप्रो छ । त्यो नै मेरो घर हो । अझै केहि बर्ष अगाडिसम्म त्यहाँ चित्राले छाएको एउटा चित्रे गोठ थियो । त्यो गोठमा गाईबस्तु नभएर म अनि मेरो आमा,बाबु र बैनीको दुःखीआत्मा मात्र होइन दुःखी हृदयहरु बास बस्ने गर्दथ्यो ।

धन्न समय परिवर्तनशिल छ र यसलाई सबैले स्वीकार गर्नु पर्छ । केहि बर्ष अगाडि गोठलेआफ्नो रुप परिवर्तन गर्यो । भनौं निक्कै ठूलो प्रगति गरेर एकतले छाप्रोमा परिणत भयो । छाप्रो मेरो घर थियो र त्यो नै मेरो जीवन थियो । सर्वश्व प्राण थियो ।

केहिबेर उकाली चढिसकेपछि हामी तिनै छाप्रोमा पुग्छौ । छाप्रे घरमा पुग्दा आमा बाबु सुतिसकेका थिए । हाम्रो सानो परिवार थियो । त्यसैले बेलुकि चाडै सुत्ने चलन थियो । तर घर बाहिर पुग्ने बितिक्कै अब आमा बाबुलाई के भन्ने होला । कसरि कुरो सुरु गर्ने होला । अलिअलिलाजलाज, कुतीकुती, उकुसमुकुस र अफ्ठ्यारो लागिरहेको थियो ।

छाप्रोमा पुगेपछि बेस्सरि आँट कसें, “आमा ! आमा,” भनेर दुई-तीन चोटी कराइ हालें । सायद भाते निन्द्रामा हुनुहुन्थ्यो होला । केहि सुन्न सक्नु भएन । त्यसपछि आमालाई उठाउनको लागि ढङढङ गर्दै मूल दैलोलाई एक दुईचोटि मुड्कीले हिर्काइ हालें ।

दैलोदेखि आएको आवाज सुनेर, – “म उँठे, उँठे । कस्तो त बिग्रोल छोरा ! आँधाराततिर घर आउछस् को ? तेरो एक पैसाको बुध्दि छैन् ?” माथिलो तलादेखि बेस्सरि कराउनु भएको मुनि तलासम्म प्रष्ट सुनियो ।

त्यति भनि सकेपछि आमा मुनी तलामा झर्नु भयो । दैलो भित्र रहेको अगालो खन्द्रङ्गै गर्दै दायाँ बायाँ सारेर खोल्नु भयो । दैलो खोल्दा उनको हातमा एउटा कुपी बलिरहेको देखियो । कुपीको उज्यालोले हामी एक अर्काको अनुहार हेर्न सजिलो बनाइ दियो । तिनै उज्यालोको सहाराले तारालाई देखाउँदै, –

“आमा !यी हेर्नोस त। मसँग को आएकी छिन् ?”

“आक्काइ, आक्काइ ! ओको सो ?” चाम्लिङ भाषामा (को हुन्) भनेर प्रश्न गर्छिन् ।

“तारा ! लेक्पाको क्या । मसँग बिहे गर्नको लागि भगाएर ल्याको छु ।”

“ए ! जाति नै गरिस् छ त । बिना बिच्चैमा किन राती अबेला आइस भनेर कराको र’छु । अस्ति तँ नहुँदा कमलेम्पा जेठामाग्न गाको थियो । दिएन र’छ, रक्सि नै खाएन छ । जस्ताको तस्तै फर्काइ दिएछ । छोरा ! लु ठीक गरिस् । अब तेरो छ महिनाको छुट्टी सकेर जानुभन्दा अगाडि बिहे गरेर जाने भइस । सार्है राम्रो गरिस । अब त कसो बुहारीले हामीलाई बुढेसकालमा नहेर्ला र ? यसो तातो चिसो बनाएर खान दिइ हाल्छ नि । खालि यता र उता डुलिमात्र हिड्थिस् । हामी छोराले कहिले बिहे गर्छ होला भनेर ठूलो पिरमा थियौ । बल्ल ढुक्कै भयौ।”

त्यति भनेर आमा एकछिन रोकिनु हुन्छ । मध्यरातमा हामी दुईजनालाई सँगसँगै देखेर अचानक आमाको अनुहारमा प्रशन्नताले छाएको प्रष्ट देखिन्छ ।मैले जिन्दगीमा पहिलो पटक मेरी आमा त्यतिको धेरै खुशी भएकीनजिक बाट नियालि रहेको थिएँ । नत्रभने उनको जन्मथलो हलेसी रातमाटेदेखि कर्मथलो बुईपा छिप्तीसम्म आँशु, पशिना र रगतमात्र बहेको देखेको थिएँ ।

हुनत मेरी आमा मात्र होइन । हरेक आमाबाबुले हुर्केका छोराछोरीलाई आफ्नो बलबुता अनुसार जोडि बाध्ने जमर्को गर्ने गर्छन् । त्यस्तै हो । कोहि शफल हुन्छन् कोहि हुँदैनन् । किनभने त्यो पनि मानव जिवनको उत्तरदायित्व भित्र नै पर्छ भन्ने मलाई लाग्छ ।

त्यसबेलासम्म आमा ढोकादेखि भित्र उभिरहेकी थिइन रहामी दुवैजनाले बाहिरदेखि आमाको वाणी सुनिरहेका थियौं । आमाको कुरो सकिएपछि, “तारा ! भित्र आउँ,” भन्छु र उनकी हातमा समात्न खोज्छु । आमाको अगाडि मैले त्यसोभन्दा फिलफिले जामा लगाइ रहेकी मान्छे । लाजले तीन बाङ्गो पर्छिन् । उनी हल्का लजाएपछि, “ल ! ठीक्कै छ,” भन्छु र घरभित्र पसेर म उनकी अगाडि अगाडि हिँड्छु । तरकोठा एकदम सानो छ । यसो दुईचार कदम गन्दा गन्दै अगेनाको छेउमा पुगिहाल्छौं ।

“बुढा ! उँठने होइन र ? छोराले केटी लिएर आको छ ।” आमाको खुसी सयमा उनान्सय भएको थिएन । हर्षले बिभोर हुँदै बाबुलाई उँठाउन कस्सेर कराइँ हाल्छिन् ।

“ए ! होर ? हुन्छ, हुन्छ । केटाले जाति नै गर्यो छ त,” भन्दै ऊँठ्नु हुन्छ र मुनि तलामा झर्नु हुन्छ । तर मुनि तलामा झरेर, “छोरा ! बुहारी ल्याको । लु ठीक गरिस्। भोली दाजूभाई भेला गर्नु पर्छ र भित्र्याउँनु पर्छ, तेरिमा लै,” भन्नु हुन्छ ।

ताराको सामुन्ने मेरी ममतामयी आमा र बाबुलाई राम्ररि हेर्छु । म त्यसै त्यसै अवाक हुन्छु । निक्कै लामो समयदेखि बाबु आमाले यहि दिनको प्रतिक्षा गरिरहनु भएको थियो । जानेर वा नजानेर मैले पुरा गर्न सकें भनेर मनमनै हर्षित हुन्छु ।

त्यति भएपछि छाप्रो भित्रको वातावरण एकछिन सुनसान हुन्छ । तर ताराको अवस्था कस्तो छ भनेर म घरि घरि उनलाई हेरिरहने गर्थें ।

“कहाँ भेटिस् ? कि लेक्पा नै गइस् ? धन्न बाटोमा कसैले भेटेन र केहि भनेन वा गरेन ? नत्र लेक्पालीहरुले तलाइँ टारीखोला काट्नै दिदैनथ्यो । धन्न तेरो राम्रो दिन,” छातीभरि एक डोकोडर साँचेर फेरि आमा भकभक्किनु हुन्छ ।

“होइनौ, आमा! तारालाई पखालाले सताएको रहेछ । त्यसैलेजलपाई धामीकोमा फुकि माग्न आकी र”छ । अनि त्यतै त्यतै सिम्मा छ्यामाकोघरमा बास बस्न आकी रहिछे । म दिक्त्तेलदेखि आउँदै गरेको थिए । अनि त्यहिँ भटेर ल्याको ।”

“अनि राम्रै भो छ, हगि । साइतमा नै घर छाडेर हिँडेकी रहेछिन् । मेरी बुहारी हुनको लागि ।”

त्यति भनि सकेर आमा अगेनामा आगो बाल्नथाल्छिन् । खरानीभित्र लुकिरहेको चिलाउनेकोदुई टुक्राठुटा दाउराहरुलाई एक आपसमा ठाकठुक ठाकठुक ठोस्छिन्। अलिअलि खरानी खोतलेर कोइलाहरु जम्मा पार्छिन् । तर सबैभन्दा पहिले, “आगो फुक्ने बाँसको ढुङ्ग्रो कता पर्यो ? यो जाबो ठेउला पनि घरिघरि हराइ रहन्छ,” भन्छिन् ।

म मेरो पुरानो भात थापिखाने ठाउँ अगेना छेउमा थिएँ र मकैको खोसेलाले बनेको एउटा पिरामा आराम गरिरहेको थिएँ । आमाले ठेउलाको कुरो निकालेपछि यसो दायाँ बायाँ हेरें तर कतै देख्दै देखिनँ । बरु आमाले नै उहाँ बसिरहेको स्थानदेखि ठीक पछाडि पट्टी भेटाउनु भयो । अनि, – “ए ! साँच्ची, तिमेरुले त भात पनि खाको छैन् होला, कि खायौर ?”

“आमा ! कहाँ खानु हौं, भात । भात न सात । यहाँ मान्छेलाई कहाँसम्म बिजोक भयो ।”

“होइनँ ! के बिजोक भो र ?”

“साँझ रिमरिम भैसकेको थियो । मरेर मरेर झिँगटीघरमा आइपुगेको थिएँ । सिम्माले,काका ! एकछिन हाम्रोमा बस्यौहै भनिन् । हुन्छ हुन्छ भनेर एक डबका जाडको लोभले बसें । तारा आएरभान्सा कोठामा बसेकी रहेछिन् । उनीसँग भेटेर अलिअलि बोल्नमात्र के खोज्दै थिएँ । कहाँदेखि हुरि बतास झैँ रन्थनिएर उनकी आमा कराउँदैकराउँदै आइ पुगिन । म त डरले एक पोका भएर घरको तलामाथि लुक्दा लुक्दा हत्तु भए ।”

“थैया नाथे ! कमजोरी छोरा । किन लुकेको ?डरछेरुवा । अस्ति माग्नु आउँदा दिनु भोना छ । म तपाइँको छोरी बिहे गर्छु गर्छु । जसरि पनि गर्छु । आँट कसेर त्यति जाबो कुरा भन्न सकिनस् ?”

“हगि ! तपाइँ भन्नु सक्नु हुन्छ, खुबै । त्यति सजिलो म कहाँ सक्थे र ? कसरि सक्नुहौ, आमा । पहिले म तिमीलाई बिहे गर्छु भनेर भन्नै सकिनँ ।दोश्रो म आफै लाजले भुतुक्कै भएँ । अनि त सुन्नोस न । कतै नभाको डर लागेर सुरुवालमा पिसाव फेर्ला जस्तो भाथ्यो । अनि डर लाग्दैन त ?अहिले तपाइँ भन्नु हुन्छ । त्यतिबेला कस्तो थरर भाथें । तर आमा ! मेरो हुने दिन रहेछ । उहाँसँग तारा जान मानिनन् । बरु मसँग पो मानिन र लिएर आको ।”

“हेर ! धन्न आमाले लगेना छ । नत्र ता बरबाद हुने रहेछ ।”

बाबुले आमा छोराको वार्तालाप सुनिसकेपछि, “खैर,जे सुकै होस् । छोरा ! बुहारी लिएर आइस छ । एकदम ठीक भो । अब भोलिनै टीकाटालो गरिदिनु पर्छ,” त्यतिभन्नु भयो ।

हामी तीनैजना पालैपालो बोलेको ताराले सुनिरहेकी थिइन । तर उनी पटक्कै बोलेकी थिइनन् । घर भित्रको भुईँ एकदम चिसो थियो । त्यसैले जस्केलो छेउँमा बस है भनेर केहिबेर अगाडि मैले एउटा काठे पिरा दिएको थिएँ । उनी तिनै पिरामा टुक्रुक्कै बसिरहेकी थिइन ।

उनीत्यहाँ बसेर घरिघरि मलाई पिलिक पिलिक हेर्ने गर्थिन । म ऊँसग समय समयमा आँखा ‍जुधाइँ रहेको हुन्थें । तर त्यतिबेला मलाई यस्तो लाग्थ्यो । हाम्रो घरको अवस्था देखेर उनी रनभुल्ल परिरहेकी होलिन । सायद घरभित्र पसेपछि यति सानो छाप्रो रहेछ । यस्तोमा कसरि जुनी काट्ने होला । अझै भोलिपर्सिदेखि खुब ठूलो घरमा बिहे गरिस् छ भनेर उनकी माइतीहरुले कति सराप्दा हुन् । सँगसँगै पढेका र हुर्केका सङ्गिनीहरुले छ्या छ्या कतै नभएर त्यस्तो घरमा बिहे गर्न गाकी भनेर गाली गर्दी हुन् । उनकी कति कुरा काट्दो होला भनेर थोरै पिर परिरहेकी होली भन्ने सोचें। तर किन अझै भारीमाथि सुफाडी थप्ने है भनेर केहि भन्नै सकिनँ । बरु उनलाई हेरेर एकछिन चुपचाप बसें ।

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ घरमा तारा फिटिक्कै नबोलेपछि, – “तिमेरुभोकभोकै रहेछौ ? म मिलिक्कै भात पकाइ हाल्छुहै ।”ढुङ्ग्रोले आगो फुक्दै फुक्दै स्नेहको साथ आमाले त्यति भन्नु हुन्छ ।

“आमा ! हुन्छ नि । केहि खुशी र केहि दुःखी पनि छु । मनमा हल्का त्राश छ । त्यसैले पिरमा छु । तर जतिसुकै पिर परे पनि भोक लागिरहेको छ । बरु रात जतिसुकै जावस । भात खाएर मात्र सुत्नु पर्ला ।”

“तँ के मलाई देख्ने बितिक्कै जहिले पनि भोकाइ नै रहेको हुन्छस् । त्यो त तेरो सानोदेखिको बानी नै हो,” कट्टक्कै मेरो दिल खानेजबाफ फर्किन्छ ।

अगेनामा हुरुरु आगो बलिरहेको थियो । आमा बसिरहेको ठाउँदेखि सुस्तरि उँठनु हुन्छ । उठेपछिएउटा भड्डुको कसौँडी तयार गर्नु हुन्छ । त्यसपछि मेरो नजिकै कुनामा रहेको एउटा डालो देखाउँदै, “खै ! त्यो डालो यता ले ले । त्यहाँ चामल राखेको छु,” भन्नु हुन्छ । आमाको कुरा सुनेर “हस” भन्छु र डालो उचाल्छु । तर डालो त एकदम हलुङ्गो छ रपिँधमा एकमाना जति मात्र चामल देखिन्छ ।

“आमा ! चामल त एकदम थोरै छ त । यति हो ?” तीन छक्क पर्दै भन्छु ।

“खेत त छैन् । कहाँको धान हुनु न‍चामल हुनु । त्यहाँ जति छ । त्यो सबै पकाइ दिन्छु । तिमीहरु दुई जनालाई पुगि हाल्छ । नपुगे पनि दुईजनाले आँधि आँधि बाडि खाउँ न है,” आमाको नम्र स्वर घट्दै घट्दै गएर सकिन्छ ।

“आमा ! अबफिकर नगर्नोस् ।म बिस्तारै बिस्तारै पैसा कमाउँन सुरु गर्छु र प्रशस्तखेतबारी किनिहाल्छु नि,”आमा बाबुको अगाडि थोरै फुर्ती लगाइदिन्छु ।

“यी हेर नँ । यो सबै तैले जोडेको भाँडाकुँडाहरु हुन् । यति जोडेर तखुब ठीक पो भाको छ है आजकाल,”कसौँडीमाचामल चौउल्याउँदै चोउल्याउँदै त्यति भन्नु हुन्छ ।

नभन्दै म भर्ती हुनुभन्दा अगाडि हाम्रो घरमा केहि भाँडावर्तनहरुथिएनन् ।पकाउनको लागि खाम्तेलमा बनेका केहि माटाका हण्डीहरु थिएँ । त्यसैमा जे जति हुन्थ्यो । खानेकुराहरु पकाउने गर्थ्यौं । तर खाना खाने बेलामा एकदम दुःख हुन्थ्यो । अति बिपन्न परिवार थियौं र सम्पत्तिको नाममा दुईटा सिलाबरे थालहरुमात्र थिए ।

तर घरमा हामी जम्मा ४ जना थियौं । खानको लागि बाबु र म पहिलो प्राथमिक्त्तामा पर्थ्यौ । आमा र बैनीले हामीले खाइसकेपछि खानु पर्थ्यो । त्यसरि पालैपालो खाना खान मलाई पटक्कै मन पर्दैनथ्यो ।खाना खाने बेलामा एउटा कचिया टिप्थे र हुरुरु दगुर्दै केराबारीमा पुग्थें । हतार हतार केराको पात काटेर ल्याइ हाल्थें । अनि बैनीर मलाई यहाँ दिनु भनेर केराको पात थाप्थ्यौं ।

तर म भर्ती हुने बितिक्कै सुदिन फिर्यो । बुईपाबजारको कमल साहुजीले छ थान काँसे थाल, छ थान नै बटुका, त्यति नै अम्खोरार कचौराहरुझारि दिएका थिए ।

अझै, “काइँली आम्मै ! किराँतीको घर हो । छोरा लाहुरे भाको छ । चाडबाडको समयमा जाड रक्सी पनि पकाउनु पर्छ । पहिले पो दुःख थियो । त्यो दिन गयो । अब अहिले समय र चलन अनुसार चल्नु पर्छ । लु एक थान खड्कुँलो, फोसी, बाटार पानी थाप्ने ठूलो झ्यागाँ पनि बोकाएर ल्याइ देको छु। कति माटाका गाग्रीमा पानी भर्न जानु हुन्छ । बिना बिच्चैमा । अलिकति ठोकियो कि त फ्वास्सै फुटि हाल्छ । धेरै बिजोक हुनु भो । अहिले पैसा सैसा केहि पनि तिर्न पर्दैन । हिसाब किताव लेखेर राखि रहन्छु । जुनदिन छोरा छुट्टीमा आउँछ । त्यहिँ दिन उसैले तिर्छ । तपाइँहरुले केहि धन्दा मान्न पर्दैन है,” भनेर साहुजीले भनेको कुरो आमाले मलाई सुनाउनु भएको त्यसबेला स्मरण गर्छु ।

हङकङमा पुगेपछि महिनै पछिको तनखा जम्मा गरेको थिएँ ।५-६ महिनापछि साहुजीको सबै ऋणहरु तिर्नको लागि पैसा पठाइ दिएँ । अझै गुरूङ गाउँदेखि दुई-तीनवटा राडीहरु र राम नारायणको पशलदेखि केहि कपडाहरु झारेर एक दुईवटा सिरक र डसनाहरु सिलाउनु भनेर चिठीमा लेखेको थिएँ । आमाले ती सबै बन्दोबस्त मिलाउनु भएको थियो ।

नत्रभने मलाई कम्ता हत्तु हुन्थेन । अझै बेला बेलामा चुइचुम्मा लिलिमादेखि बास बस्ने गरि भेना आउनु हुन्थ्यो । यसरि कोहि पाहुनाहरु आउने बितिक्कैहुरुरु ठूल्नानाको घरमा गएर ओढ्ने ओछ्याउँने माग्नु पर्दा सार्है हिनताबोध हुने गर्थ्यो । त्यो पनि त्यति सजिलो कहाँ पाइन्थ्यो र ?

एकछिन ठूल्नानालाई सम्झें ।उहाँ मेरो कान्छा काका र काकिकी छोरी । काका र काकी बृध्द अवस्थामा हुनुहुन्थ्यो । त्यसैले ठूल्नाना एकदम व्यस्त हुनुहुन्थ्यो । उहाँले बिहे गरेर पनि घर खानु भएको थिएन । माइतीघरमा नै हैकम जमाएर मज्जाले बस्नु भएको थियो । पाहुना आएपछि म लुगाफाट खोज्नको लागि बेलुकि पख उहाँको घरमा पुग्ने गर्थें । “ठीक समयमा आइस छ । घरछेउँको यो बाँस नुहाउनु सघा,” भन्नु हुन्थ्यो । “हस हजुर, नाना,” भन्थें । नानाले टाङ्गो लगाएर बाँस नुहाउनु हुन्थ्यो । म नुहाएको बाँसलाई झुन्डिएर पक्रन्थें । त्यसपछि बाँसको घास काट्नु हुन्थ्यो । कुनै कुनै बाँस कम्ता बलियो हुन्थेन । म जाबोलाई हरर उडाएर लान खोज्थ्यो ।

त्यसपछि भैंसीलाई घास हाल्न सघाइ दिनु पर्थ्यो । कुनै कुनैबेला चिरिङ्गीमा कुखुरा थुन्न चल्लाहरु समाइ दिनु पर्थ्यो । “जुठोभाँडा गर्दैछु । एक छिन पख है फुच्चे,”भन्नु हुन्थ्यो । तर भाग्यले जुराएको दिन, “ए होइ ! महीपिउछस्?” भन्नु हुन्थ्यो । हाम्रो घरमा गाइभैंसी थिएन । त्यसैले दूध महीको थोपो हुदैनथ्यो । “कस्तो त ! दिनुहुन्छ भने किन नखानु हौ नाना ?” उल्टै प्रश्न गरेर जबाफ पर्काउथे । अनि मिठो मानि मानि अमिलो मही पिउँथें ।

“नाना ! महीको स्वाद त यस्तो । झन दूध पिउँनु पाए कस्तो मिठो होला हगि ?” कतै एक सिरिप दुध पाइन्छ कि भनेर नानालाई व्यङ्ग्य गर्थें । नाना झन कम्ती कडा थिइनन्, “दूध पिउँन त पाडो भएर जन्मनु पर्यो नि केटा,” उहाँको मुखदेखि अजिर्णको जबाफ फर्केर मेरो बायाँ छातीमा घोच्थ्यो ।

तैपनि कोहि बेला चन्द्रमा दाहिने पर्थ्यो । अलि अलि माया गरेर ५-१० पैसा दिनु हुन्थ्यो । पैसा पाएपछि बुईपा नेपाले बाडाकोमा पुगेर सख्खरबाट बनेको १० पैसाको दुईटा कालो मिठाइ किन्थें र खान्थें ।

तर नानालाई सबै काम सघाइ सकेपछि एउटा सिरक र राडी दिनुहुन्थ्यो । म त्यसपछि बोकेर हुरुरु दगुर्दै दगुर्दै घर निस्कन्थें ।

तर सम्झना केवल सम्झनामा नै सिमित हुन्छ ।

अब अर्को छुट्टीमा गाउँ आउँदा दुई चार पाथि बिउँ जाने धान फल्ने खेतर एउटा सानो घर बनाएपछि बिहे गर्ने योजना बुनेको थिएँ । तर समय यति बलबान रहेछ कि के भयो भयो भनेर म छक्क परिरहेको थिएँ ।

आमाले बोल्न एकछिन बिश्राम लिनु भएपछि म केहिबेर घोत्लिरहेको थिएँ । तर अचानक बाबुले, “हेर ! कुखुराको भाले घरमा भाको हो भने आज काटनु पर्थ्यो । जा है । कि एउटा चल्ला छ । तेहिँ काट्यौ त बुढिया ?” एकचोटी ख्याक्कै खोकेर आमालाई त्यति भन्नु हुन्छ ।

“भो भो पर्दैन । त्यो जाबो सानो न सानो छ । बिच्चैमा ज्यान मात्र के मार्नु हौ । अलिक मासु भा पो ।(बाँसको कालो ढुङ्ग्रोलाई देखाउँदै) यी ढुङ्ग्रोमा गुन्द्रुक ‍छ । म भुलुक्कै उमालि दिइ हाल्छु नि । मेरो छोरा बुहारीलाई । छोरा त असाध्यै खन्चुवा छ । गुन्द्रुक मन पराइँ हाल्छ । बरु बुहारीले पो खान्छ खादैन कुन्नि ?” भन्छिन् आमा ।

“एकजना कन्या केटाले बिहे गरेर घरमा लक्ष्मील्याको बेला के खानु हौ,जाबो गुन्द्रुक,” बाबुको मुखदेखि बिस्मृती बमन हुन्छ ।

“बुढो मान्छे ! मासु खानु त हुनु पर्यो नि, हुत्ति।”

“किन नहुनु हौं ।भै हाल्छ नि । पहिले पो कसैले पत्याउँदैनथ्यो । त्यसोत अहिले मलायाको लाहुरेको बाबु पो त । यी मेरो यो जुङ्गा हल्लाउँदै दुई चार पैसा झर्छ । तिमीले के ठानेको छौं । जतिबेला भन्यो, त्यतिबेला गाउँमा मलाई मान्छेले ऋण दिन्छन् ।”

“लु ! भो । गफ धेरै लायौ । भोली बिहान सबेरै उठेर बङ्गुरको पाठा खोज्नु गाउँतिर जाउँ है ।”

“हुन्छ, हुन्छ । जाबो एउटा पाठो त मिलिकको भरमा नै ल्याउँछु । मनरानीम्माको घरमा जान्छु । एउटा निख्खुर कालो पाठो देखेको छ । त्यै लिएर आउँछु ।”

“खै ! देला के है ? बुढीमान्छे अलिक कडा मिजासकी छिन् ।”

“किन नदिनु । छोरासँग अलिअलि पैसा पनि छ होला । बुढी मान्छेले हाताहाती भनेपछि दिइ हाल्छिन्। के भनेर दिँदैन र ?यदी किन्न दिएनन् भने पनि काम सार्दै गर्नु पर्यो भन्छु । अनि पन्चरबाटो हटियाको दिन एउटा पाठो किनेर ल्याइदिन्छु र सट्टा भर्ना गरि दिइ हाल्छु।मेरो लागि त्यो जाबो कुन ठूलो कुरो भो र ?”

बाबुले त्यति भनि सकेपछि आमाले चुल्हामा खाना बसाउनु हुन्छ । ढुङ्रोदेखि अलिकति गुन्द्रुक निकालेर भिजाउँनु हुन्छ । तर घरभित्र राखेको दाउरा सकिएको थियो । त्यसैले दाउरा खोज्नको लागि आमा घर बाहिर निस्कनु हुन्छ । जुन लागिरहेको भए पनि केराघारिको छायाले हल्का अँध्यारो थियो । तर खै किन हो किन ? घर बाहिर निस्केको एकछिनपछि सानो स्वर गरेर आमाले, – “छोरा ! यहाँ बाहिर आइज त,” मलाई बोलाउनु हुन्छ ।

आमाले बोलाउँनु भएपछि म हतार हतार घरबाहिर निस्कन्छु, “होइनँ ! के भोर, आमा ?”मसिनै स्वरमा सोध्छु ।

“ऊँ त्यतातिर सुन त ?” हातले डाँडाटोल तिर देखाएर त्यसो भन्नु हुन्छ ।

“हस,” भन्दैयसो कान थापेर सुन्न थाल्छु ।

रात छिपिदै गएको थियो । सारा गाउँको मान्छेहरु मस्त निन्द्रामा थिए । तल्लोघरतिरका मान्छेहरु अघि नै भासाक भुसुक सुतिसकेका थिए । कतिजनाले त आँधा निन्द्रा पुर्याइ सकेका थिएँ । तर डाँडाटोलदेखि अचानक मानिसहरु त्यसरि कराएको आवाज आउँदा थोरै त्राश उत्पन्न हुन्छ । अझै होहल्ला झन बढ्दै गएको आभाष हुन्छ । एकछिनपछि झनठूल्ठूलो आवाज सुनिन थालियो । उसै त म डरपोक मान्छे । गाउँमा के अनिष्ठ हुन आट्यो भनेर डरले थरर काम्न थालें ।

केहि कुरा पत्ता लगाउन नसकेपछि अझै राम्ररि कान थापेर सुनें । पहिले आवाजढाकिम फुपुको हो कि जस्तो लाग्यो । तर यकिन हुँन सक्त्तै सकिनँ । कि ताराको आमाको हो ? कतै फेरि फर्केर त उनी आइनन् । मनभित्र शंका उपशंका उत्पन्न हुन थाल्यो । निक्कैबेरदोधारमा परिरहें । रिसको झोंकमा जे पनि हुनपनि सक्छ । लेक्पा पुगेर फेरि फर्केर आइछन् भन्ने मनमनै लाग्यो ।

छोरा मानिसको स्वर चाहिँथोरै धोद्रे सुनिन्थ्यो । त्यस्तो स्वर कि त बम बहादुर काकाको हुनु पर्छ । होइनँ भने तेजेम्पा दाजूको होला भनें । कि चाल पाइ हालिन्छ भनेर थोरै अगाडि बढेर सुनें । के चाल पाइन्थ्यो ? पटक्कै पाइएन । किनभने हामी अलिक टाढा नै थियौं । झन जमिन थोरै छड्के परेको हुनाले अलिक प्रष्ट सुन्न सक्त्तै सकिएन ।

यसरि कस्को स्वर हो भनेर ठेक्कै ठम्याउँन सकिनँ । किताराको आमाबाबुले लेक्पातिरको सबै गाउँलेहरु बटुलेर ल्याए भनेर झन शंकाको भूमरीमा रुमलिन थालें । जति त्यस्तो सम्झ्यो, उति मुटुमा ढ्याङ्ग्रो ठोक्यो । एकछिनपछि तिनै आवाजहरु क्रमशः बढ्दै बढ्दै आयो र सिम्माको घरतिर जान लागेको आभाष भयो । किनभने उनीहरुको घर नजिकै सिम्माको घर पर्थ्यो । र, केहिबेर अगाडि तारालाई मैले त्यहिँ घरदेखि भगाएर ल्याएको थिएँ ।

को कराएको होला भनेर फिटिक्कै चाल पाउन सकेनौं । तर हामी आमासँग निक्कैबेरघर बाहिर बसेर होहल्ला सुनेको चाल पाएर तारा र बाबु पनि बाहिर निस्कनु भयो । उहाँहरु बाहिर निस्केपछि, –

“होइनँ छोरा ! होहल्ला एकदम ठूलो आयो । गाउँमा यस्तो कहिले सुनिएको थिएन । सारा लेक्पाका मनिसहरु एकहुल भएर तारालाई खोस्नको लागि छिप्ती आयो भने के गर्ने होला ? अझै उनीहरुको साथमा लाठी, खुकुरी र हसियाहरु लिएर आयो भने त हामी के गर्छौ होला र ?केहि गर्नै सकिदैन । के सकिन्थ्यो ? त्यसै त हामी गरिव न गरिव छौं । जसको परिणाम स्वरुप गाउँका सबै मानिसहरुले हामीलाई हेप्ने गरेका छन् । कि घरमा आइसकेको बुहारी पनि खोसेर लान्छन् त ?” थोरै खिन्नता सहित आमा बोल्छिन् ।

“आमा ! भरसक त्यस्तो नहोस् । तर तपाइँले त्यसो भनेको सुन्दा आँङ जिरिङ्गै भयो । अजिर्णको व्यथा बल्झ्यो । भित्र भित्रैदेखि डर पो लागेर आयो,” मैले आमालाई त्यसो भनेको सुनेर सबैजनाको मुख बन्द हुन्छ ।

कोहि केहि नबोलेपछि, “आमा ! भन्नोस् त । अब के गर्ने होला ?केहि अन्य उपाय छ कि ? नत्रभने तारासँग अहिले राती नै भागेर धरानतिर जाउँ त ?”

मेरो कुराले आमा एकछिन निशब्द बस्नु हुन्छ । त्यसपछि केहि सोचेर, “बुहारी ! तिमी पनि एकदम अभागीरहेछौ । यसरि तिमी आफ्नो खुसीले घरमा आउँदा हामीले घर भित्र्याउन पनि नपाउला जस्तो छौं । दुःख छ भनेर हेपेर तिम्रो बाबुले रक्सी पनि फर्काइ दियो । आखिर तिमी घरमा आयौं । तैपनि खोसेर लैजाला जस्तो छ । तिमी एकजना कन्याकेटीमात्र नभएर परिवारको जेठी छोरी पनि हौ । थपक्कै माग्न जाँदा इज्जतको साथ दिएको भए नानाथरिको जालसाज गर्नु पनि पर्ने थिएन । के मेरो पनिएउटा छोरा त थियो । आखिर भर्तीवाल मान्छे हो । लडाइमा परेर मरेन भने वा भोलीपर्सि राम्रै गरि खान्थ्यो कि ? थपक्कै माग्न जाँदा दिएको भए केहि झँझट हुँदैनथ्यो । एकदम काइदा हुन्थ्यो । यसरि रात बिचमा हामी डराउनु पनि पर्दैन थियो । अनि हामीले समाजको अगाडि डराएर, निम्छुरो भएर, लज्जित भएर होइन छाती फुलाएर हिँड्न पनि पाउथ्यौं । छोराले बुहारी भगाएर ल्याएकोमा एकदम खुशी छु तर त्यो मानेमा मेरो धेरै चित्त दुखेको छ,” त्यति भनेर आमाका शब्दहरुमा पुर्णबिराम लाग्छ ।

“आमा ! त्यसो पनि नभनि हालौं । हरेक आमा बाबुले आफ्नो छोरीलाई राम्रो, धनी, पढेको र समाजको प्रतिष्ठित व्यक्त्तिलाई नै बिहे गरि दिन चाहन्छन् । सायद ताराको बाबुको पनि एकजना धनी मान्छेको छोरासँग बिहे गराइ दिउँ भन्ने सपना थियो कि ? के जाबो लाहुरेसँग बिहे गराउँने । लाहुरे त आफै भै हालेको छु भन्ने पनि लाग्यो होलाकि ? उहाँ राजनीति गर्ने मानिस हुन् । कतै भोलिपर्सि चुनाबको समयमा सहयोग हुन्छ भनेर वा कतै राजनीतिज्ञहरुको छोरासँग पो गर्ने सपना थियो कि ? तर मानिसले देखेको सपनालाई कुठाराघात गर्ने सायद म पो दोषि छु कि ?”त्यति भनिसकेर म अक्क न बक्क हुन्छु ।

तर मेरो कुरा सुनेर, “होइनँ ! जस्ले जे सुकै भनेता पनि हुल कसिएर धेरै जना आयो भने त हाम्रोकेहि अत्तोपत्तो चल्दैन । हामी गरिव मात्र त होइन । बुढाबुढी पनि भाका छौं । हाम्रो बोलि पनि बिक्न छाडेको निक्कै धेरै भयो । अनि हामी सबैलाई थाहा भएकै कुरो हो । समाजमा गरिवले कहिले पनि न्याय पाउँदैन । जुन कुरो मध्यान्हको घाम झै छर्लङ्गै छ । बरु छोरा ! मैले भनेको मान । तिमेरु अहिले नै भागि हाल । यसमा नै हामी सबैको भलाई हुन्छ । बुढिया ! कि के गर्ने र ? जावस है । माया लाग्छ भनेर के गर्ने ? समय हाम्रो साथमा छैन् ।” मनभरि रहेको उकुसमुकुस, छटपटी र बेदनाको पिडा बाबुले एक्कैचोटी ओकल्नु भयो ।

“ल ! ल ! हामी त भागेर बाचौंला रे । अनि तपाइँहरुलाई हाम्रो छोरी ले । अहिले झट्टै ले । कता भगाइस्? कहाँ लुकाइस् ? कुन ठाउँमा छ ? भर्खरै निकाल भन्दै भाला र तरवार नचाउँन थाल्यो भने के उत्तर दिनुहुन्छ ? बोल्न सक्नु हुन्छ । के सक्नु हुन्थ्यो ? त्यसैले सार्है अफ्ठ्यारोमाछौं । तैपनि यतिबेला बुध्दि खियाउनु पर्छ । आमा ! यस्तो आपतिमा हामीलाई गाउँमा कसै कसैले सहयोग गर्न सक्छ कि, यसो सम्झनोस् त ?”

“छोरा ! तँलाई मैले सानो छँदादेखि पटक पटक भनेको कुरो हो । तँ एकजना सौतिनी आमाको छोरा होस् । त्यसैले राम्रो गरे पनि वा नराम्रो गरे पनि तँ एक्लै नै हो । (भुईँको एक मुठ्ठी माटो उँचाल्दै) लु यो मट्टी छोएर भन्छु । परेको बेला तँलाई यस गाउँमा कसैले सहयोग गर्ने वाला छैन् । तँ भर्ति भइस अनि गरि खान्छस् भनेर कति गाउँलेहरुले इर्ष्या गरेका छन् । खेदो खनेका छन् । तैले पैसा कमाइस भने कस्को खेत किन्ने रहेछ ? कुन ठाउँमा घर बनाउने रहेछ ? को बिहे गर्ने रहेछ ? कस्तो गहनापात लगाउने रहेछ ? हामी हेरि हाल्छौ नि । शक्त्तिको अगाडि कसैको केहि लाग्दैन् । बुढाबुढीले गाउँमा धेरै फुर्ति गर्नु पर्दैन भनेर घास दाउरा गर्दा होस् वा बाख्रा गोठाला जाँदा मात्ने भएर त्यसो भनेको हामीले धेरैचोटि सुनेका छौं । त्यस्ता कुराहरुले यीमेरा कान पाकिसकेको छन्,” नयनभरि आँशु भरेर आमाको मुखदेखि कम्पन छुटेको देख्छु ।

“आमा ! हजुरहरुले समुन्द्र देख्नु भएको छैन् । समुन्द्रमा ठूलो माछाले सानो माछालाई खान्छ । यो गाउँ हो । अनि गाउँमा धनीले गरिवलाई खान्छ । त्यो खास्सै नौलो कुरो होइनँ । ठूलोले सानोलाई हेप्छन् । खास्सै नियम त होइन तर त्यस्तै चलन चल्छ ।

तर गाउँका मानिसहरु जो जस्तै भएता पनि हामी इर्ष्या, क्रोध र लोभदेखि टाढा नै रहेको फाइदा हुन्छ । त्यसैले यी सारा कुराहरुलाई मध्यनजर गरेर हामी आज यहाँ बस्दैनौं । भात सात पनिकेहि खादैनौं । पुर्खिमा नानाको मतानमा गएर सुत्छौं । हामी भागेर टाढा गयौ र तपाइँहरुलाई केहि भयो भने हामीलाई केहि थाहा हुँदैन । त्यसैले एकरात त्यहाँ लुकेर बस्छौं । भोली बिहान परिस्थिति पनि परिवर्तन होला ? तारा ! अनि तिमी के जानको लागि तयार हो ?” ताराको मलिन अनुहारतिर हेर्दै त्यति भन्छु ।

बिचरी ताराको मलाई पछ्याउँनु बाहेक त्यति धेरै विकल्पहरु केहि छैनन् । त्यसैले मेरो कुरो सुन्ने बितिक्कै मुन्टो हल्लाएर थपक्कै स्वीकार गर्छिन् ।

तर आमा भन्छिन्, “बुहारी ! उनीहरु आएर हाम्रो छोरीचेलीलाई किन जब्बरजस्ति लगेको भनेर कसैले सोध्यो भनेम आफै राजीखुसीसाथ आएकी हुँ । मलाई बिहे गर्नको लागि कसैले धरकपट गरेको छैन् । म बिहे गर्न खुसि छु र फर्केर लेक्पा जान्न, यहिँ बस्छु भन्नु है । के त हामीलाई अहिले जतिसुकै दुःख भएता पनि हामी मरेर गएपछितिमीहरु मिलेर गरि खानु सकिहाल्छौं । तिमीहरुलाई हाम्रो लाखौलाख आशिर्वाद कहिलै घट्दै घट्दैन् । तर यसरि घरमै आएकी कन्याकेटीलाई पहिलो रातमा नै लुक्न जाउँ भनेर भन्दा अशुभ हुन्छ कि भनेर पटक्कै मनले मानेको थिएन । तैपनि अब तिमीहरु जाउँ । हामी पनि के गर्न सक्छौं र ? तर यहाँदेखि जाँदा घरमाथिको गल्ली गल्लीको बाटो नजाउँ । वा उनीहरु त्यहिँ बाटो भएर आयो भने जम्काभेट हुने खतरा हुन्छ । यी (मकैबारी देखाउँदै) हेर त यो मकैबारी बारी तेर्सो जाउँ । अनि भात पाकेपछि म भरै ल्याइ दिन्छु नि है ।”

तारा त्यतिबेलासम्म त्यति धेरै बोलेकी थिइनन् । तैपनि आमाको कुरा सुनेर, “हस, हस,” मात्र भनिन् ।

“आमा ! हामीलाई भात सात केहि पनि पर्दैन । अहिले भोकसोक सबै हराइ हाल्यो । तर बिहे गर्न खोज्दा यस्तो सार्हो पर्छ भन्ने कुरो अघि बेलुकिसम्म केहि थाहा थिएन । मान्छे जब पर्दै जान्छ, सिक्दै गइने रहेछ । तर जे हुन्छ, राम्रै हुन्छ । हेरौला नि है । ल गयौ है ।”

आमाबाबुसँग बिदा मागेर घर छाड्दा मध्यरात भै सकेको थियो । घरदेखि थोरै अगाडि बढ्ने बितिक्कै लहलह मकैबारी थियो । एकछिनपछि हामी तिनै मकैबारीभित्र हरायौं । तर मन चयनमा थिएन । वा आमा बाबुलाई घरमा केहि हुने हो कि भनेर मनभरि पिर र व्यथाहरु जम्मै पोका पारिरहेको थिएँ ।

गाउँमा तारा बिलकुल नयाँ मान्छे थिइन । त्यसैले म अगाडि अगाडि र उनी मेरो मेरो पछिपछि बाटो लागिरहेका थियौं । थोरै अगाडि हिँडेपछि मनमनै कुन दिनमा बिहे गरिए छ । घरि घरि समश्यमात्र आउँछ । अझै रात बिँचमा यसरि भागि भागि हिड्नु पर्ने कस्तो अवस्था आयो भन्ने सोचें । तर हैट् कति मन खेलाउँनु हौ भन्दै तारातिर फर्केर, –

“हेर ! अब मलाई यसरि कति दिन पछ्याउने हौं कुन्नि ?”नरम भएर सोधें ।

उनले, “खै,” भनेर छोटो जबाफ फर्काइन ।

त्यहाँदेखिसिधै अगाडि हिँड्दै जाँदा एउटा एक्ले पिपलको रुख देखिन्छ । हामी तिनै पिपललाई लक्ष्य गरेर क्रमशः अगाडि बढ्दै जान्छौं। रातको समयमा बर बिनाको त्यो एक्ले पिपललाई देखेपछि मेरो मन भरङ्गै हुन्छ । मलाई त्यसबेला बिचरा बरको बेस्सरि याद आउँछ । बर कहिले, कसले र किन ढाल्यो होला कि आफै मर्यो होला ? अचानक मनभित्र अनगिन्ति प्रश्नहरु उब्जिएर आउँछ । म चाहिँ मेरो लामो जीवन सँगसँगै बिताउनको लागि भरखर भरखर जोडि बनाउनखोजिरहेकोथिएँ । तर जोडी जोडिन नपाइ खोसेर लाने हो कि र एक्लो बर हुन्छु कि भनेर झसङ्गै झस्कन्छु ।

त्यो पिपलको रुखभन्दा अलिक वरतिर समेम्पा काकाको घर थियो । हामी त्यो घरको ठीक मुनि मुनि तर एक अर्कामा आवाजबिहिन हिँडिरहेका थियौं । त्योभन्दा झन मास्तिर पुर्खा दाई र पुर्खिमा नानाको घर थियो । हो, हामी घरदेखि भागेर तिनै घरमा बास बस्नको लागि जाँदै थियौ । तर के गर्नु र ? मनभरि पिर बोकेर यसरि रात बिँचमा भागि हिड्नु पर्दा पाइतालाहरुले राम्रो गति लिन मान्दैन रहेछन् । कछुवाकै गतिमा सुस्तरि अगाडि बढिरहेकाथियौं । तर त्यसरि अगाडि बढिरहँदा अचानक ताराले, –

“म एकपटक बाहिर जान्छु है । पखाला चलेको छ के,” भनिन् ।

त्यो बेला गाउँमा अहिले जस्तो घरैपिछे शौचालयको बन्दोबस्त थिएन । त्यसैले, “भै हाल्छ नि । तर रात बिचमा डर लाग्छ होला ? त्यसकारण त्यति टाढा नजाउँ । वा केहि हुन्छ कि भनेर म यहिँदेखि हेरिरहन्छु है,” जीवनमा पहिलो पटक त्यति नजिक भाका थियौं । त्यसैले अलिक लजाए जस्तो गरें तर त्यति भनें ।

मेरो कुरो सुनेर उनी केहि बोलिनन् । तर हुरुरु दगुरेर मकैबारीभित्र हराइ हालिन ।

जुनको सितल छहारि थियो । उनको तन मेरो नयनदेखि सुस्तरि सुस्तरि बिलय भएको म यसबेला बेलायतको एउटा सानो कुटीमा बसेर स्मरण गरिरहेको छु ।

त्यो दिन आजभन्दा अठ्तिस बर्ष अगाडिको दिन हो । तर अहिले पनि मेरो दिमागको नसा नसामा गाडिएर बसेको बिरक्त्तलाग्दो उक्त कहानि स्मृतिमा ल्याउँदै बिर्सदै गरिरहेको छु । सम्झनाका तिनै तरेलीहरुले मेरो मन घरिघरि भरङ्गै हुन्छ ।

किनभने अहिले पुर्खा दाजूको, समेम्पा काकाको र हाम्रो घर कसैको बाँकी छैनन् वा रहन सकेनन् । केवल कताकता धमिलो सम्झनामात्र बाँकीरहेका छन् । तर बेला बेलामा आफ्नो जन्मघर पुग्छु रघर बनाउँदा प्रयोग भएका तिनै ढुङ्गा र माटोका ढिस्काहरु छुनेवा समाउने गर्छु । अनि एक मुठी माटो उँचालेर भन्छु, – मेरो आँशु र पसिनाले सिँचित यी माटोहरु हुन्। माटोहरुमा मेरो बाल्यकालको तिता तिता अनुभवहरु मिसिएका छन्भन्छु ।

तर त्यसो भन्दै गर्दा कसो कसो एउटा कुरो चाहिँ अहिलेसम्म इतिहास भएर रहेको छ । घरको करेसाबारीमा लगभग ४० बर्ष अगाडि मैले रोपेको एउटा सुन्तलाको बुढो झ्याङ अझै जिवितै छ । सुन्तला मन परेको बर्ष दुई-चार दाना फल फल्छ । मन नपरेको बर्ष फल्दै फल्दैन र त्यतिक्कै आराम गरेर बस्छ ।

तर फलेको बेला सहयोगी प्राइमरी स्कूल पढने बिधार्थीहरुले ढुङ्गा प्रहार गरेर सुन्तलालाई सजायँ दिन्छन् । तर बुढो सुन्तलाले म जस्तो अन्यायमा परेको बियोगान्त कथाकहिले कसैलाई सुनाउँदैन् । जनम जनम सहि रहन्छ ।तर त्यसले मलाई जति सुकै अन्याय भएपनि सहनु सक्नु पर्छहै ।एक दिन आफ्नो पनि समय आफै आउँछ, भन्ने ज्ञान दिएको छ ।

अझै तारासँग डराएर भाग्ने बेलामा तिनै सुन्तलामा फेदमा बसेर आमा र बाबुसँग बेदान्त पोखेका सम्झनाहरु अहिलेसम्म मस्तिष्कदेखि बिलय भएका छैनन् । डिमेन्सियाले छोएको वा खाइसकेको छैन् । यसैले घरिघरि सुन्तलाको फेदमा पुग्दा आमा र बाबुको छायाँ देख्छु । बाल्यकालमा खेलेको उहाँहरुको कोमल काख र न्यानो माया सम्झन्छु ।

तर अहिले तिनै तहसनहस भएकोहाम्रो घडेरीकोठीक मुनी गरामा चारैतिर ढुङ्गाको पर्खाल लगाइएको छ । पर्खालको चौघेराभित्र३० बर्ष अगाडि एकजना गाउँको गरिव किसान बाबु र २० बर्ष अगाडि एकजना गरिवढाक्रेनी आमाको समाधिस्थल रहेका छन् ।

हो, – त्यो नै मेरो यस धर्तीको पवित्र स्थल हो ।

क्रमशः

भीम राई

अक्सफोर्ड, इगँल्याण्ड ।