Breaking

तिनकुने प्रर्दशन : १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले बुझायो प्रतिवेदन

योहो संवाददाता

काठमाडौं—गएको चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार १०८ जना विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन पेश गरेको परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई भने ५ वटा मुद्दा चलाउन राय दिइएको छ ।

प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले ४ जना बालबालिका सहित १०८ जना विरुद्ध पाँच कसुरमा मुद्दा दायर गर्न प्रस्ताव गरेको जनाइएको छ ।

प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध, राज्य विरुद्धको कसुर, कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा चलाउन राय दिएको छ । प्रहरीले यस घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्य विरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्य विरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटिसकेका छन् ।

प्रदर्शनमा कमान्डर दुर्गा प्रसाईं हिरासतमै रहे पनि प्रदर्शनमा संलग्न भएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा अदालतले छोडिसकेको छ ।