गणतन्त्रको जगमै भुइँचालो ल्याउने गरी राजावादीहरुले सडक तताउँदा वामपन्थी दलहरुले प्रतिकारको तयारी नै गरेका छन् । गणतन्त्रवादी दलहरु मिल्नुपर्ने बेला आएको निष्कर्ष निकाल्दा कांग्रेसले भने कुनै औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । विगतमा राजा र राजनीतिक दल जोसुकै भए पनि आवश्यकता अनुसार सबैसँग सम्झौता गरेको कांग्रेसको मौनताको कारण चाहिँ के हो त ?
२००७ सालमा राणा शासन फालेपछि कांग्रेस नेपाली राजनीतिको मियो बन्न पुग्यो । विभिन्न राजनीतिक परिवर्तन, शान्ति प्रक्रियादेखि राजाको शासनमा प्रधानमन्त्री बन्ने र उनै राजालाई फाल्न पनि कांग्रेसको महत्वपूर्ण भूमिका छ । तर, आफैँले ल्याएको गणतन्त्रविरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक सलबलाउँदा कांग्रेसले अस्वभाविक मौनता साँधेको छ । बरु माओवादीले तराईको अभियान नै छाडेर काठमाडौं केन्द्रित बनेको छ ।
तर, कांग्रेस भने यही बैला प्रदेश र जिल्लाका कार्यक्रममा निस्किएको छ । कांग्रेस बोलिदिए मात्र वर्तमान राजनीतिक घटनाक्रमका आगामी बाटो तय हुनसक्छ । अर्थात, माओवादी बोक्न पनि तयार हुने र राजा बोक्न पनि तयार हुने पार्टी कांग्रेस मात्र भएकाले पूर्वराजा ज्ञानेन्द्र शाहको भविष्य निर्धारण गर्नेछ । तर, कांग्रेसले अहिलेसम्म औपचारिक रुपमा चुइँक्क बोलेको छैन । सभापतिले बोले पनि पूर्वराजाको यो सन्देशलाई उनले सामान्य आँकी रहेका छन् ।
राजावादीहरुको आरोप छ–‘ज्ञानेन्द्रले केही समयका लागि मात्र गद्दी त्यागेका थिए । र त्यो सम्झौता कांग्रेससँग भएको थियो ।’ राजाले गद्दी छाड्दा प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । गद्दी छाडेको अघिल्लो मध्यरात तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ज्ञानेन्द्रसँग ५५ मिनेट कुरा गरेपछि जनताको नासो जनतालाई नै फिर्ता गर्दै राजाले नारायणहिटी छाड्न राजी भएका थिए ।
तर, दरबारियाहरु ज्ञानेन्द्रले केही समयका लागि मात्र श्रीपेच छाडेको दाबी गर्छन् । त्यसबेला ज्ञानेन्द्रले गणतन्त्रवादीका गतिविधि हेर्छु भनेका थिए । अहिले सन्तोषजनक काम दलहरुले गर्न नसकेपछि जनताको नासो फिर्ता गर्न ज्ञानेन्द्रले कांग्रेससँग त्यो रातको हिसाब खोज्दैछन् । तर, कांग्रेस मौन छ ।
ज्ञानेन्द्र र देउवा यस्ता पात्र हुन् जसले एकअर्कालाई विश्वास र अविश्वास दुबै गरेका छन् । ज्ञानेन्द्रले २०५९ सालमा देउवालाई नै सबैभन्दा योग्य पात्र मानेर प्रधानमन्त्री बनाएका थिए । तर, उनै ज्ञानेन्द्रले देउवालाई अयोग्य घोषणा गर्दै संसद विघटन गरिदिएका थिए । कांग्रेसको एक तप्का अहिले पनि पूर्वराजाको कदमसँग सहमत देखिन्छ । जसले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै राजसंस्थाको समर्थन गर्दा अर्को पक्ष वीपीको मेलमिलापको नीति र ‘राजा र आफ्नो घाँटी जोडिएको’भन्दै कांग्रेस र राजा पर्याय भएको बताउने वीपी कोइरालाको भनाई र बेबी किङको अवधारणालाई मान्दै राजाको पक्ष लिनेहरु समेत कांग्रेसमै छन् । यही कारण पनि कांग्रेसले औपचारिक रुपमा बोल्न नसकेको देखिन्छ ।
हिजो राजाको नियुक्ति खाएका नेताहरु चुप बस्नु स्वभाविक भए पनि दरबारमा ढुुंगा हानेर राजद्रोहको मुद्दा खेपेका महामन्त्री गगन थापा लगायतका नयाँ पुस्ता चुपचाप बस्नुलाई भने अस्वभाविक मानिएको छ । गणतन्त्र अघि राजाको आशीर्वादले मन्त्री वा प्रधानमन्त्री तथा पार्टीको नेतृत्वमा पुग्न कांग्रेसीहरुलाई भारतको चाकडी आवश्यक रहन्थ्यो । अहिले गगन थापा पार्टीको नेतृत्वमा आउन चाहँदा मौनताको अगाडि भारतको चाकडीको आशंका गरिएको छ । सभापति बन्नकै लागि शेखर कोइरालाले त उतै झुकाव राख्ने अभिव्यक्ति दिइरहेका छन् । जहाँ गगन र ज्ञानेन्द्रले आफ्नो अस्तित्व र वर्चश्वका लागि यसअघि नै योगीसँग छुट्टाछुट्टै भेट गरिसकेका छन् ।
अहिले पूर्वराजाको सक्रियतामै भारत फ्याक्टर देखिएको छ । जहाँ राजा फर्काउने अभियानमा योगी आदित्यनाथको तस्वीर प्रदर्शन गरिनुले पनि धेरै कुराको संकेत गरिरहेको छ । किनकि भारतले राजसंस्था नै नचाहे पनि नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन चाहन्छ । अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजावादीमार्फत कांग्रेसलाई दबाब बढाएको अर्थमा हेरिएको छ ।
राजावादीले शक्ति देखाएकै भोलिपल्ट पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दिल्ली दौडिनुले समेत ठूलो अर्थ राखेको छ । पार्टीभित्रै हिन्दु धर्म सापेक्षता र संवैधानिक राजतन्त्रका समर्थक रहनु तथा राजा र कांग्रेस सधैँ एकअर्काको सहयागी भूमिकामा रहेको विगत भएकाले जस्तोसुकै अवस्था आए पनि सम्झौताका लागि तयारी अवस्थामा रहने कांग्रेसले मौनता साँधिरहेको बुझ्न समस्या छैन ।


प्रतिक्रिया