देश

बालेन सरकार बन्ने बाटो खुल्यो, अबको प्रक्रिया यस्तो, यी पाँच कारण चैतको दोस्रो साता मात्र नयाँ सरकार (भिडियोसहित)


काठमाडौं— निर्वाचन सम्पन्न भएको दुई हप्ता बितिसक्दा पनि नयाँ सरकार गठनको कुनै सुरसार देखिएको छैन । निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेको छ भने राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन पनि बुझाइसकेको छ । संवैधानिक र कानुनी रूपमा यतिबेला बहुमत प्राप्त दलले सरकार गठन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण गराइसक्नुपर्ने हो । तर, सरकार बनाउनु त परको कुरा, बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म आफ्नो संसदीय दलको नेता समेत छान्न सकेको छैन । चुनावअघि बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिए पनि रास्वपाले उनलाई संसदीय दलको नेता बनाउने प्रक्रिया अघि बढाउन सकेको छैन । सरकार गठनका लागि सांसदको शपथ अनिवार्य नभए पनि रास्वपा भने शपथपछि मात्र सरकार बनाउने तयारीमा देखिएको छ ।