अन्तर्राष्ट्रिय

IRAN-USA WAR : इरान आक्रामक, ट्रम्प हायलकायल, युरोपले दिएन साथ, नेतान्याहु नै संकटमा ||


काठमाडौं— फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानविरुद्ध सुरु गरेको ‘अपरेशन एपिक फ्युरी’ मध्यपूर्वलाई चिरेर सिङ्गो विश्वलाई त्रसित बनाउने बिन्दुमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको लडाइँ छिट्टै अन्त्य गरी विजयको घोषणा गर्ने दाबी त गरेका छन्, तर ग्राउन्ड जिरोको यथार्थ निकै फरक छ । इरानका सर्वोच्च नेतादेखि सुरक्षा प्रमुखहरूसम्म मारिएका छन्, नौसेनाको ठूलो हिस्सा र अत्याधुनिक क्षेप्यास्त्रहरू नष्ट भएका छन् । तर, जीवनरेखा मानिएको हर्मुज जलमार्गलाई नै हतियार बनाएर इरान अहिले अन्धाधुन्ध बदलामा उत्रिएको छ । इरानले इजरायल, मध्यपूर्वका अमेरिकी सैन्य अखडा र छिमेकी खाडी मुलुकहरूलाई केन्द्रित गर्दै आफ्ना शक्तिशाली र नयाँ मिसाइलहरू प्रहार गरिरहेको छ । तत्काल आत्मसमर्पण गर्ने कुनै छाँटकाँट नदेखाएको इरानको यो रणनीतिले युद्धको पूर्ण अन्त्यलाई अनिश्चित बनाइदिएको छ । सबैभन्दा गम्भीर संकट होर्मुज जलडमरूमा देखिएको छ । २१ माइल चौडा यो समुद्री मार्ग, जहाँबाट साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता देशको तेल निर्यात हुन्छ, अहिले इरानको नियन्त्रण र आक्रमणको तारो बनेको छ ।