काठमाडौं— चर्चित अनुहारहरू रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीबाट को–को सांसद बन्दैछन् भन्ने पर्खाइको घडी समाप्त भएको छ । प्रत्यक्षका साथै समानुपातिकतर्फ पनि सर्वाधिक धेरै मत प्राप्त गरेको रास्वपाले समानुपातिकबाट मात्रै ५७ सिट पाएको थियो । दलबाट ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण ५७ मध्ये ४८ जना महिला र ९ जना पुरुष रास्वपाको समानुपातिकबाट निर्वाचित हुने भएका हुन् । तर, सभापति रवि लामिछानेका विश्वासपात्रदेखि चर्चित अनुहारहरू नै यसपटक समानुपातिक कोटाबाट संसद् छिर्न नपाउने भएका छन् । यसअनुसार प्रमोद न्यौपाने, ज्ञानेन्द्र मल्ल र प्रकाश सपुत जस्ता चर्चित अनुहारहरुकै संसद् छिर्ने सपना पूरा नहुने भएको छ । रास्वपाले समानुपातिक सांसदमा निर्वाचित गर्न निर्वाचन आयोगमा बुझाएको ५७ जनाको सूचीमा यी नामहरू समावेश हुन सकेनन् । रास्वपाको खस–आर्यतर्फ पुरुषमा रमेश प्रसाईं मात्रै सिफारिस भएका छन् । उनी उक्त क्लस्टरको पहिलो नम्बरमा थिए भने दोस्रो नम्बरमा रहेका सुदीप ढकाल र तेस्रो नम्बरका प्रमोद न्यौपाने सूचीमा अटाउन सकेनन् । रास्वपाले खस–आर्यतर्फ १६ जना महिला उम्मेदवार सिफारिस गरेको छ । सुदीप र प्रमोद रविका निकट मानिन्छन् । यो सूचीमा प्रमोद नपर्दा रास्वपाकै नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । रवि लामिछानेका हरेक उतारचढावका सहयात्रीका रूपमा चिनिएका प्रमोद नअट्दा पार्टीभित्र मात्रै नभई बाहिर पनि चर्चा भइरहेको छ । सञ्चारकर्मीको पृष्ठभूमिबाट आएका प्रमोद कुनै समय सभापति लामिछानेका सहकर्मीसमेत थिए ।
देश


प्रतिक्रिया