देश

सुशीला ः आफ्नै वचन अधुरा, जेन–जीलाई धोका, न भ्रष्टाचारी थुनिए, न आयोग बन्यो, उल्टै लुकाइन् प्रतिवेदन (भिडियोसहित)


काठमाडौं— सहन सक्ने क्षमताभन्दा बढी बेथिति र कुशासनका कारण जन्मियो जेनजी आन्दोलन । त्यहीँबाट अप्रत्यासित रुपमा प्रधानमन्त्री बनिन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । देश नै अभिभावकविहीन भएका बेला उनीसहित राष्ट्रपति रामचन्द्र पौडेलले अभिभावकत्व दिए । जटिल समयमा देशलाई निर्वाचनको सम्मुख पु¥याउनु उनको सुझबुझ र सफलता नै हो । तर, यति हुँदाहुँदै पनि कार्कीले ऐतिहासिक केही अवसरहरु भने गुमाएकी छन् ।
प्रधानमन्त्री कार्कीसँग थिति बसाल्ने उत्कृष्ट मौका थियो । जो आगामी सरकारले ग्रहण गर्न सक्थ्यो वा गराउन जनताले बाध्य पार्थे त्यसबाट उनी चुकेकी छन् । सुरुमा जननिर्वाचित सरकारझैं दीर्घकालीन निर्णयमा हात हाल्न थालिन् । तर, पछि गर्नुपर्ने कार्यभार समेत बिर्सिन् । बरु कार्की पनि जुन प्रवृत्तिका विरुद्धमा आन्दोलन भयो त्यसै प्रवृत्तिको मतियार बन्न पुगिन् । अर्थात, डिम्ब तस्करीको मुद्दा फिर्ता लिनेदेखि आन्दोलनको फाइदा उठाएर जेलब्रेक गर्ने केही पार्टीका नेताहरुका मुद्दा फिर्ता लिन आफू निकटका महान्यायाधिवक्तालाई परिचालन गरिन् । गृहमन्त्री ओमप्रकाश अर्याल आफैँ विभिन्न विवादमा मुछिए ।