देश

पद छोडेरै चुनावी दौडाहामा, रेनु र बालेन होमिए, जगदीशले झुट बोलेरै घण्टी रोजे, हर्क पनि मैदानमा (भिडियोसहित)


काठमाडौंं— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा पुरानै रोग फेरि देखिएको छ, त्यो हो सत्ता मोह । कार्यकाल बाँकी छँदै चर्चित अनुहारहरू नै सांसद बन्ने मोहले राजीनामा दिएर उम्मेदवार बनेका छन् । जनताले दिएको म्यान्डेट पूरा गर्नु राजनीतिक जिम्मेवारी हो कि सांसद बन्ने चाहना त्योभन्दा माथि हो ? भन्ने प्रश्नको जवाफ उम्मेदवारीले दिएको छ । स्थानीय तहदेखि प्रदेश र अन्तरिम सरकारसम्म जिम्मेवारी पाएका नेताहरूले कार्यकाल बाँकी छँदै राजीनामा दिएर संसद् प्रवेशको बाटो रोज्नु संयोग मात्र होइन । यो राजनीतिक संस्कृतिमा गहिरो रूपमा गाडिएको सत्ता–केन्द्रित सोचको परिणाम मान्न सकिन्छ । मन्त्री, मेयर वा मुख्यमन्त्री हुँदा पाएको शक्ति र पहुँचले सांसद बनेपछि अझ ठूलो प्रभाव पार्न सकिन्छ भन्ने भ्रम सिर्जना गरेको देखिन्छ । जेनजी आन्दोलनपछि उदाएका नयाँ राजनीतिक अनुहारहरूले पुराना दलको सत्ता मोह र नैतिक पतनको कडा आलोचना गरेका थिए । तर आज ती आलोचकहरू नै उही बाटोमा हिँड्न थालेका छन् । कार्यकाल पूरा नगरी पद छोड्ने, अन्तिम समयमा राजीनामा दिने प्रवृत्तिले नयाँ राजनीतिको दाबी कमजोर बन्दै गएको छ ।