देश

नयाँ कांग्रेस हाँक्ने गगनको टिम, युवा नै धेरै, ओली क्याबिनेटका बदनाम प्रदीपदेखि चुनाव हारेका नै धेरै (भिडियोसहित)


काठमाडौं— राजनीतिमा विद्रोह गर्दै आएका गगन थापा विद्रोहकै बलमा नेपाली कांग्रेसको सभापति बनेका छन् । चार दिनसम्म भृकुटीमण्डपमा चलेको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन हुँदै गगनले मध्यरातमा शपथ लिए । बीपी र गणेशमानको रगत नभए पनि नसा–नसामा उनीहरूकै विचार बगेको बताउँदै आएका गगन अहिले विरासत खोस्ने लडाइँमा छन् । सभापति बन्ने दौडमा रहँदा पार्टीबाटै कारबाही भएपछि उनले देउवाकै शैलीमा पार्टी फुटाएर उनै देउवाको माला पहिरिए । ‘गर या मर’ को अवस्थामा रहेका गगनका लागि विद्रोहबाहेक अर्को विकल्प थिएन । राजनीतिक रूपमा आफूभन्दा जुनियर रवि लामिछाने र बालेन शाह निर्णायक शक्तिका रूपमा उदाउँदा विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका गगनलाई यसले थप प्रेरित गरेको देखिन्छ । सभापति र प्रधानमन्त्री बन्ने संकल्पमा रहेका गगनले अब एक पटक मात्र सांसदको निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । पार्टीमा विद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति त बने, तर पार्टी नै फुटेको अवस्थामा अब उनी प्रधानमन्त्री कसरी बन्लान् ? नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा गगन समूह विश्वस्त छ ।