काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कुन क्षेत्रबाट उम्मेदवार बन्लान् भन्ने कौतूहल आम नागरिकमा उत्पन्न भइरहँदा झापा–५ बाट उम्मेदवारी दिने पक्का भएको छ । झापा–५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् । राजनीतिमा सुरुदेखि नै ‘वर्गशत्रु’ का रुपमा रहेका यी दुईबीचको प्रतिस्पर्धालाई लिएर चासो बढेको छ । बालेनले पहिलेदेखि नै ओलीलाई टक्कर दिने बताइरहँदा ओली एमालेबाट एकल सिफारिस भइसकेका छन् भने अब उनको मुख्य प्रतिस्पर्धी बालेन हुने भएको छ । बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार माघ ५ गतेभित्र राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी छ । काठमाडौंमा बालेनको घर निर्वाचन क्षेत्र नं. २ मा पर्छ । यसअघि सो क्षेत्रमा रास्वपाबाट सोबिता गौतमले चुनाव जितेकी थिइन् । यसपटक उनले चितवन–३ रोजेकी छन् । चितवन–३ उनको घर भएको क्षेत्र हो । चितवन–३ बाट गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । तर, यसपटक भने उनले भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेनु दाहाललाई यो क्षेत्र छाड्ने चर्चा छ । जसले गर्दा चितवन–३ मा अब रेनुविरुद्ध सोबिता गौतम आक्रामक रूपमा मैदानमा उत्रिँदा चुनावी मैदान तातिने निश्चित छ ।
देश


प्रतिक्रिया