काठमाडौं— जेनजी आन्दोलन पछि सुरु भएको कांग्रेसभित्रको भाँड्भैलो विशेष महाधिवेशनसम्म आइपुग्दा पनि कायम छ । अहिले भृकुटीमण्डप भर्सेस सानेपाको अवस्थाले पार्टी फुटको संघारमा पुगेको छ । पार्टी नफुटाउने र एकढिक्का भएर जाने भन्दै दुई पक्षबीच पटक पटक वार्ता भए ।मंगलबार बिहान पनि वार्ता भएको थियो, तर सो बैठकमा आ–आफ्नो अडान राख्नेबाहेक ठोस प्रगति हुन सकेन । कांग्रेस संस्थापन पक्षको असहयोगका बिच आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टीलाई विभाजनबाट जोगाउने प्रयासहरू भइरहेका छन् । कांग्रेसको विशेष महाधिवेशन केवल एउटा संगठनात्मक प्रक्रियाको उद्घोष मात्र होइन, यसले दलको भविष्यमात्र होइन, मुलुकको राजनीतिक दिशासमेत पुनः निर्धारण गर्ने क्षमता बोकेको छ । विशेष महाधिवेशन किन आयो र कसरी सुरु भयो भन्ने कुरा सतहमा आईनै सकेको छ । अब यस अधिवेशनको अन्त्य कसरी होला? भन्ने प्रश्न अहिले केवल कांग्रेसभित्रका कार्यकर्ताको मात्र नभई राष्ट्रिय राजनीति नियालिरहेका सबैको चासोको विषय बनेको छ ।
देश


प्रतिक्रिया