अन्तर्राष्ट्रिय

इरान हान्ने अमेरिकी योजना, खामेनी उठाउने ट्रम्पको रणनीति, सेनासँग छलफल गरे, के हुँदैछ इरानमा ? (भिडियोसहित)


काठमाडौं— इरानका सडकहरू अहिले रणमैदान बनेका छन् । विगत १४ दिनदेखि जारी प्रदर्शनले इस्लामिक गणतन्त्रको जग हल्लाइदिएको छ । न्युयोर्क टाइम्सका अनुसार, यदि इरानी सरकारले प्रदर्शनकारीमाथि दमन जारी राखेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीको कदम चाल्ने विषयमा गम्भीर विचार गरिहेका छन् । यसका लागि अमेरिकी अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य हमलाका विकल्पहरूबारे ब्रिफिङ गरेका छन् । अधिकारीहरूले बताए अनुसार राष्ट्रपतिले अझै अन्तिम निर्णय भने लिइसकेका छैनन् । ट्रम्पले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरान स्वतन्त्रतातर्फ हेरिरहेको छ, जुन पहिले कहिल्यै भएको थिएन । अमेरिका सहयोगका लागि तयार छ ।’ अर्कोतर्फ, इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार चेतावनी दिँदै भनेका छन्, ‘यदि अमेरिका वा इजरायलले इरानमाथि हमला गरेमा दुवैलाई कडा जवाफ दिइनेछ ।’ टाइम म्यागजिनले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । प्रदर्शनका क्रममा सयौँको संख्यामा हताहती भए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । समाचार एजेन्सी एपीका अनुसार अहिलेसम्म २ हजार ६०० भन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।