काठमाडौं— तत्कालीन समयमा कुलमान घिसिङलाई मन्त्री नबनाएको भए वर्तमान अन्तरिम सरकार नै गठन नहुने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले नै राजीनामा माग गरेपछि घिसिङ सरकारबाट बाहिरिसकेका छन् । कार्की क्याबिनेटमा ऊर्जासहित सहरी र भौतिक गरी तीन मन्त्रालय सम्हालेका कुलमानले बुधबार राति प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका हुन् । गत भदौ ३० देखि पुस २३ गतेसम्म मन्त्रालय सम्हाल्दा उनले के–कस्तो काम गरे भन्नेमा धेरैको चासो छ । त्यसैले धेरै अपेक्षा गरिएका कुलमान आफैँले ११५ दिनमा गरेका १०७ वटा कामको फेहरिस्त सार्वजनिक गरेका छन् । आगामी फागुन २१ मा निर्वाचन गर्ने गरी ६ महिनाका लागि बनेको अन्तरिम सरकारको करिब दुई महिना अवधि बाँकी छँदै बाहिरिएका घिसिङले ११५ दिनमा नीतिगत सुधारमा बलियो जग बसाएको दाबी गरेका छन् । घिसिङका अनुसार नेपाल–भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेलीमा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्न सम्झौता भएको छ । यी अन्तरदेशीय प्रसारण लाइनहरू सन् २०३० सम्म सम्पन्न हुने सुनिश्चितता भई थप करिब ५ हजार मेगावाट विद्युत् नेपाल–भारतबीच आयात–निर्यात गर्न सक्ने वातावरण बनेको छ । त्यस्तै नेपालबाट बङ्गलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने सहमति भएको छ ।
देश


प्रतिक्रिया