अन्तर्राष्ट्रिय

इरानमा उथलपुथल निम्त्याउँदै अमेरिका, ट्रम्पको निसानामा खामेनी, पुटिनले नजोगाए मादुरोकै हालत ? (भिडियोसहित)


काठमाडौं— भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण शैलीमा अमेरिकाले गिरफ्तार गरेसँगै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी देश छाडेर भाग्ने योजनामा रहेको खबरहरुले विश्वको ध्यान तानेको छ । इरानमा चर्किंदै गएको सरकार विरोधी प्रदर्शन र अमेरिकाले गर्न सक्ने हस्तक्षेपका कारण उनी रुस पलायन हुने योजनामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ । त्यसो त अहिले इरानका ३१ मध्ये २७ प्रान्तमा विद्रोहको आगो दन्किएको छ । सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीहरूले एउटै स्वरमा ‘सर्वोच्च नेता खामेनीको अन्त्य होस’ भन्दै नारा लगाइरहेका छन । बेलायती पत्रिका ‘द टाइम्स’ को रिपोर्टअनुसार, यदि प्रदर्शन नियन्त्रण बाहिर गएमा वा सुरक्षा फौजले साथ छाडेमा खामेनीले मस्कोका लागि उडान भर्ने ‘प्लान–बी’ तयार पारेका छन् । यो पलायन योजनामा खामेनीका छोरा तथा उत्तराधिकारी मानिएका मोज्ताबा खामेनीसहित परिवारका २० जना सदस्य र निकट सहयोगीहरू सामेल छन् । स्रोतका अनुसार उनीहरूले तेहरानबाट बाहिरिने बाटो तय गरिसकेका छन्, जसमा विदेशमा सम्पत्ति जम्मा गर्ने र सुरक्षित यात्राका लागि नगदको व्यवस्था गर्ने विषयहरू सामेल छन् । द टाइम्सलाई एक खुफिया स्रोतले बताएअनुसार, इस्लामिक गणतन्त्रको सेना बढ्दो प्रदर्शनका कारण थिचिन पुगेमा वा सुरक्षाबलहरूले आदेश पालना गर्न अस्वीकार गरेमा खामेनी आफ्नो भित्री घेरासहित विमानमार्फत रुस प्रस्थान गर्नेछन् ।