देश

कांग्रेस–एमालेकै हालीमुहाली, राष्ट्रिय सभा कब्जा, प्रचण्ड ‘एक्सपोज’, गगनको असन्तुष्टि, रास्वपा सून्य (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूबीच भएको तालमेलको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिएका छन् । राष्ट्रिय शक्ति र संविधान निर्माण गर्ने शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने देउवाको राजनीतिक सोचअनुसार कांग्रेस, एमाले र जसपा नेपालबीचको सहकार्य सफल भएको हो । तालमेलको प्रक्रियामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई समेत समेट्ने प्रयास भए पनि सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा नेकपा एक्लिएको छ । आफ्नो मतभारअनुसार चार सिटको दाबी गरेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माग पूरा नभएपछि पार्टीलाई एक्लै चुनावमा लैजाने निर्णय गरेका हुन् । कांग्रेस र एमालेले नेकपालाई तीन सिटको प्रस्ताव गरे पनि प्रचण्ड त्यसमा सहमत भएनन् । तालमेलको निर्णायक चरणमा कांग्रेस नेता रमेश लेखक देउवाका दूतका रूपमा सक्रिय रहेका थिए । उता, देउवाले मधेशमा गठबन्धन सरकार जोगाइराख्ने रणनीतिअनुसार जसपा नेपालका नेता महन्थ ठाकुरलाई उम्मेदवार बनाएर तालमेललाई औपचारिकता दिएका छन् । कुनै समय ‘सँगै स्वर्ग र नर्र्क’ जाने कसम खाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच गोप्य संवाद भए पनि आपसी राजनीतिक दूरी झन् बढेको देखिन्छ । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबीच देखिएको सहकार्यपछि देउवाको ढोका चहार्न पुगेका प्रचण्डलाई कांग्रेस नेतृत्वले विश्वास नगरेपछि नेकपा थप एक्लिएको छ ।