काठमाडौं— एक–अर्कालाई वर्ग शत्रुकै रूपमा हेर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो समयदेखिको तिक्तता तोडिने अवस्थामा पुगेको छ । डेढ वर्षअघि ‘स्वर्ग र नर्कसँगै जाने’ कसम खाए पनि प्रचण्डलाई बीचैमा अलपत्र पारेर ओलीले शेरबहादुर देउवासँग सहकार्य अघि बढाएपछि यी दुई नेताको सम्बन्धमा दरार आएको थियो । तर, आइतबार यी दुई नेताले भेटवार्ता गर्दै संवादहीनता तोडेपछि सम्बन्ध पुनः सुमधुर हुने आशा पलाएको छ ।
तिक्ततापूर्ण सम्बन्धकै बीच आइतबार दिउँसो च्यासलमा ओली र प्रचण्डबीच भएको करिब आधा घण्टाको एक्ला–एक्लै भेटघाटले नेपाली राजनीति नयाँ ढङ्गले अघि बढ्ने सङ्केत गरेको छ । प्रचण्ड भारत भ्रमणमा जानुअघि भएको उक्त भेटपछि ‘स्वर्ग र नर्क’ जाने कथाको नयाँ अध्याय सुरु हुने देखिएको छ, जसको मुख्य आधार राष्ट्रिय सभाको निर्वाचन बनेको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ । उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा शीर्ष दलका नेताहरूले मिलेर जान कसरत बढाएका हुन् । ओली–प्रचण्डको भेटलाई त्यसैको एउटा कडीका रूपमा लिइएको छ । यसअघि गत बिहीबार एमाले महासचिव शङ्कर पोखरेल र नेकपाका नेता वर्षमान पुनबीच पनि छलफल भएको थियो ।
देश


प्रतिक्रिया