देश

ओलीको चट्टानी अडान, बयान नलिन सुशीलामाथि दबाब, लेखकको जाने संकेत, किन डरायो आयोग ? (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने गृहकार्य तीव्र पारेको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पत्र काटिसकेको छ । उनी लगत्तै तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । तर, अध्यक्ष ओलीले भने आयोगको औचित्यमाथि नै प्रश्न उठाउँदै बयान नदिने अडान लिएका छन् । तत्कालीन गृहमन्त्री लेखक पनि सभापति शेरबहादुर देउवासँग बयान दिने कि नदिने भन्नेबारे परामर्शमा छन् । मंगलबार शीतल निवासमा भएको शीर्ष तीन दलका नेता, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको बैठकमा पनि ओलीले आफूसँग कुरा गर्नु छ भने ‘गुण्डु’मा पठाइदिन भन्दै जे–जे भन्नु छ, त्यहीँ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीले सार्वजनिक रूपमै ‘गोली ठोके हुन्छ तर बयान दिन जान्नँ’ भन्ने जस्ता कडा अभिव्यक्ति समेत दिन भ्याएका छन् ।