काठमाडौं— ६ महिनाको अवधिभित्र नयाँ जननिर्वाचित संसद् गठन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार छ । निश्चित मिति नै तोकेर प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की नेतृत्वको सरकारलाई प्राप्त मुख्य म्यान्डेट चुनाव सम्पन्न गराउनु नै हो । तर, जति निर्वाचनको मिति घर्किँदै गएको छ, त्यति नै अन्तरिम सरकारको विकल्पका आवाजहरू पनि बुलन्द रूपमा उठ्न थालेका छन् । त्यसैले, ‘नेताहरूको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्री कार्की, दलहरूले सर्वपक्षीय सरकार वा संसद् पुनस्र्थापना भन्दै आफ्नो सरकारको विकल्प खोज्न थालेपछि अहिले तिनै नेताहरूसँग छलफल गर्न थालेकी छन् । यसैक्रममा, मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीर्ष तीन दलका नेताहरूलाई बैठकमा बोलाए । केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छलफलका लागि बोलाइएको सो बैठकमा प्रधानमन्त्री कार्की पनि सहभागी भइन् । यसअघि सोमबार साँझ मात्रै प्रधानमन्त्री कार्कीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी थिइन् । उक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरु सबैको आलोचना खेप्ने अचानो होइनौँ भन्दै राजनीतिक दल र जेनजीबाट भइरहेको प्रहारप्रति असन्तुष्टि जनाएकी थिइन् ।
देश


प्रतिक्रिया