लायनिज्मलाई केवल पद र प्रतिष्ठाको विषय मात्र नबनाई यसलाई एक आदर्श जीवनशैलीका रूपमा आत्मसाथ गर्दै आएका नेपालका प्रतिष्ठित लायन्स नेता अनन्त प्रसाद भेटवाल अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मानबाट सम्मानित भएका छन् ।
मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर (पीडीजी) भेटवाललाई भारतको गुजरातस्थित अहमदाबादमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको ५३औँ इसाम फोरम (भारत, दक्षिण एसिया, अफ्रिका र मध्य पूर्वका लायन्सहरूको सम्मेलन) का अवसरमा विशेष सम्मान र उच्च कदर प्रदान गरिएको हो ।
सम्मान प्रदान गर्दै लायन्स अन्तर्राष्ट्रियका नेता लायन ए. पी. सिंहले पीडीझी भेटवालको खुलेर प्रशंसा गरे । सिंहले उनलाई “लायनिज्ममा सेवाको साँचो नायक” को संज्ञा दिँदै लायन भेटवाल नेपालका लागि मात्र नभई सिङ्गो अन्तर्राष्ट्रिय लायन्स समुदायका लागि नै प्रेरणाको जीवन्त स्रोत भएको बताए ।
लायन्स नेताहरूका अनुसार यो सम्मान कुनै एक कार्यकालको सफलता मात्र नभई वर्षौँदेखिको निरन्तर परिश्रम, बहुआयामिक नेतृत्व र मानव कल्याणप्रतिको अटल प्रतिबद्धताको प्रतिफल हो । विशेषगरी गभर्नरको कार्यकाल समाप्त भएपछि पनि उनले देखाएको सक्रियता, अनुशासन र विनम्रताले उनलाई अन्य पूर्व गभर्नरहरूका लागि समेत एक उत्कृष्ट ’रोल मोडल’ का रूपमा उभ्याएको छ । संकटको समयमा अग्रपंक्तिमा उभिनु, नयाँ पुस्तालाई नेतृत्वका लागि मार्गनिर्देशन गर्नु र लायन्सका सेवामुखी कार्यक्रमहरूलाई संस्थागत र दिगो बनाउनु उनका प्रमुख विशेषता हुन् । उनको प्रभाव डिस्ट्रिक्ट ३२५ ‘ई’ मा मात्र सीमित नरही देशभर र अन्तर्राष्ट्रिय मञ्चमा समेत अनुभूत गरिएको छ ।
संगठन विस्तार र सुदृढीकरणमा भेटवालको दूरदर्शिता कति प्रभावकारी छ भन्ने कुरा उनले गत वर्ष प्राप्त गरेको प्रतिष्ठित क्लब ओपनिङ एक्सटेन्सन अवार्डले पनि पुष्टि गर्छ । यस उपलब्धिले नेपाली लायनिज्मलाई विश्व मानचित्रमा थप उचाइमा पु¥याएको छ । यस ऐतिहासिक र गौरवपूर्ण उपलब्धिको अवसरमा नेपाली लायन्स समुदायले पीडीजी भेटवाललाई हार्दिक बधाई दिँदै उनको आगामी सेवायात्रा अझ प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने कामना गरेको छ ।


प्रतिक्रिया