देश

कांग्रेसमा फेरि किचलो, देउवाले पनि मिलाउन सकेनन्, गगनलाई सदस्यता गलपासो, शेखर के ताक्दैछन् ? (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेसले १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४ गतेसम्म ७७ वटै जिल्लामा नयाँ क्रियाशील सदस्यता फाराम वितरण गरिसक्नु पर्ने थियो । तर, क्रियाशील सदस्यता व्यवस्थापन समितिको लापरवाहीका कारण पुसको पाँच दिन बितिसक्दा समेत कतिपय वडामा नयाँ क्रियाशील फाराम नै वितरण हुन सकेको छैन । देशभरि पठाइएका ६ लाख नयाँ क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएपछि विवाद चुलिदा समितिले पुस १ गते उक्त वितरण गरेको सदस्यता फारम रद्द गर्ने र पुनः सिरियल नम्बर सहितका फाराम जिल्ला पठाउने निर्णय गरेको थियो । निर्णय अनुसार नै पुस ३ र ४ गते जिल्ला हुँदै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता फारम पठाइएको छ । अझै सबै निर्वाचन क्षेत्रमा क्रियाशील फारम पुगिसकेको छैन । काठमाडौं उपत्यकाका लागि आइतबारसम्म पु¥याउने लक्ष्य केन्द्रीय सदस्यता व्यवस्थापन समितिको छ । शुक्रबारसम्म १६५ मध्ये १३२ क्षेत्रमा क्रियाशील सदस्यता फारम पठाइएको छ ।