देश

एमालेको रोचक जित–हार, पृथ्वीसुब्बा र महेशलाई बम्बर, गोकुल र सुरेन्द्र हार्दा बादलको अनुमोदन (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओलीले ह्याट्रिक गर्दा ‘पहिलो गाँसमै ईश्वर पोखरेललाई ढुङ्गा’ लागेको छ । एकै झड्कामा पछारिएका ईश्वरदेखि अन्तिम नतिजा आइसक्दा १९ पदाधिकारीमा देखिएका रोचक जित र हार यस्ता छन् ।
केपी शर्मा ओलीको ‘किचेन क्याबिनेट’का भान्से विष्णु रिमाललाई यस पटक एमाले प्रतिनिधिले पत्याएनन् । चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले टीका लगाएर उपमहासचिव पद किस्तीमा उपहार दिएका रिमाल ११औँ महाधिवेशनमा प्रतिनिधिहरुबाट अनुमोदित हुन सकेनन् । महाधिवेशनमा ओलीको फर्मान कार्यकर्ताले ललकार्दा पछारिने रिमाल पहिलो व्यक्ति हुन् । ओलीको चक्र वरिपरि रहेर अरूलाई प्रवेश नै नगराउने रिमाल, ओलीका प्रभावकारी व्यवस्थापक त बने, तर पार्टीभित्रको नेटवर्क विस्तारमा कमजोर रहँदा विस्थापित बनेका छन् । ओलीको छत्रछायाँमा बसेर आशीर्वाद लिएपछि सहजै जित हासिल गरिन्छ भन्ने भ्रम पालेर बसेका रिमाल उपमहासचिव पदमा पराजित मात्र भएनन्, केन्द्रीय सदस्यमा समेत पराजित भएर ‘रिङ आउट’ हुन पुगे । त्यसकारण रिमालको हार अरूको जितभन्दा पनि रोचक बनेको छ ।