देश

भदौ २३ नरसंहार : १५० जनाको बयान, IGP र आरजुसम्मले के भने ? ओली–लेखकमा अड्कियो गाँठो


काठमाडौं— जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कति जनाको बयान लियो ?, बयानमा गएका कसले के के भने ?, बयान दिन अस्वीकार गर्नेलाई कसरी र कहिले बोलाउँछ ? जाँचबुझ आयोगमाथि अहिले यिनै प्र्रश्नहरु तेर्सिएका छन् । आयोगले छानबिन गरिरहेको अवस्थामा जेनजी आन्दोलनका पीडितका साथै आमसर्वसाधरणहरु आयोगको प्रतिवेदनको प्रतिक्षामा छन् । अहिले आन्दोलनका क्रममा राज्यबाट भएको दमन र विध्वंसका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न गठित आयोगले धमाधम बयान लिइरहेको छ । प्रहरीका प्रमुख अधिकारीदेखि सरकारका उच्च पदस्थहरूसम्मको बयान लिइसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारीमा आयोग रहेको छ । १५० जनाभन्दा बढीको बयान लिइसकेको छ । गत असोज ९ गते गठित आयोगले पुस ९ गतेभित्र अनुसन्धानको सबै काम सकिसक्नुपर्नेछ । यही बीच सरकारले आयोगको कार्यक्षेत्र भने थप गरेको छ । सरकार र जेनजी प्रतिनिधिहरूबीच पाँचवटा कार्यदेश थप्ने गरी सहमति भएको हो ।