अन्तर्राष्ट्रिय

भारत आइपुगे पुटिन, हतियार र तेल कुटनीतिदेखि मिसाइलसम्म, अमेरिकाको झनै बढ्यो चासो (भिडियोसहित)


काठमाडौं— रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिवसीय उच्चस्तरीय राजकीय भ्रमणका लागि भारत आइपुगेका छन् । यो केवल औपचारिक शिखर सम्मेलन मात्र होइन; भारत–रुस सम्बन्धको नयाँ समीकरण कोर्ने, अमेरिकी दबाब, ट्रम्पको कर र युक्रेन युद्धको रापबीच दिल्लीले गर्ने रणनीतिक हिसाबकिताब को निर्णायक क्षण हो । दिल्लीमा हुने भारत–रुस २३औँ वार्षिक शिखर सम्मेलनमा पुटिनले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । भ्रमणका क्रममा रक्षा, व्यापार, स्वास्थ्य र शिक्षा– सबै क्षेत्रमा नयाँ सम्झौता हुने अपेक्षा छ । तर, यसपटक बैठकको असली केन्द्रबिन्दु हुनेछ– ऊर्जा र सुरक्षा । डोनाल्ड ट्रम्प प्रशासनले भारतमाथि लगाएको २५ प्रतिशत कर अहिले ५० प्रतिशत पुगेको छ । अमेरिकी करले भारतको तेल व्यापार, उद्योग, मेसिनरी र औषधि– सबै क्षेत्रमा गहिरो असर पु¥याएको छ । भारतको आशंका छ– रुससँगको कुनै नयाँ रक्षा वा ऊर्जा सम्झौताले ट्रम्पलाई झन् क्रोधित बनाउनेछ । भारत–अमेरिका सम्बन्ध विगत केही वर्षयता चिसिँदै गएको छ ।