देश

झुक्याएर भोट तान्ने नेता र दलमाथि अंकुश, बैंकिङ कारोबारले रोकिएला भोट किन्ने होडबाजी ?


काठमाडौं— चुनावका बेला जनता भुलाउने घोषणापत्र र देशको कायापलट नै गरिदिन्छु भन्दै लामा भाषण गर्ने तर कार्यान्वयन नगर्ने पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन आयोगले थप कडाइ गर्ने भएको छ । चुनावलाई पर्वका रूपमा मोजमस्तीमा परिणत गरेर जनताको नैसर्गिक अधिकारलाई नै ओझेलमा पार्दै आएका राजनीतिक दल, नेता तथा कार्यकर्ताहरूलाई थप नियममा बाँध्न निर्वाचन आयोगले प्रस्ताव गरेको ‘निर्वाचन आचारसंहिता २०८२’ ले नयाँ प्रावधानहरू अघि सारेको छ । विगतका निर्वाचनहरूमा पनि आचारसंहिता जारी गरे पनि त्यसको उल्लंघन नगरी निर्वाचन सम्पन्न भएको पाइँदैन । निर्वाचनलाई थप व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले निर्वाचनमा कति खर्च गर्ने, कसरी प्रचारप्रसार गर्ने र घोषणापत्रमा उल्लेख गरेअनुसारको कार्यप्रगति प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने लगायतका महत्वपूर्ण नयाँ प्रावधानहरू ल्याउन लागेको छ ।